वस्तुगत तथ्याङ्कले सार्थक परिणाम दिन सक्छ : राउत

कृष्ण रोकाया

जनकपुरधाम, ३१ भदौ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विगतमा सही तथ्याङ्कको अभावले नीति र योजनाको निर्माण सोचेअनुरुप हुन नसकेको बताउनुभएको छ ।

फ्याक्टस रिसर्च एण्ड एनालाइटिक्स नामक संस्थाद्वारा प्रकाशित प्रदेश नं २ को तथ्याङ्क पुस्तकको आज यहाँ विमोचन गर्दै मुख्यमन्त्री राउतले वस्तुगत तथ्याङ्कले सार्थक परिणाम दिन सक्दछ भन्नुभयो । कुनै पनि योजना सही तथ्याङ्कले मात्र सफल हुन सक्नै बताउँदै उहाँले प्रकाशित पुस्तक प्रदेशको यथार्थ जानकारी दिनमा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राउतले प्रदेशले उपलब्ध भएका जानकारी तथा तथ्याङ्कको प्रयोगबाट सम्भाव्य अवसरको खोजी गरी विकासमूलक गतिविधितर्फ ध्यान केन्द्रित गर्ने बताउनुभयो । नीति आयोगका उपाध्यक्ष प्राध्यापक डा भोगेन्द्र झाले प्रदेश नं २ को भरपर्दो तथ्याङ्क नभएका कारण विगतमा नीति कार्यक्रम र योजना निर्माण वस्तुपरक हुन सकेको स्पष्ट गर्दैै प्रकाशित पुस्तक सार्थक प्रयास भएको विचार राख्नुभयो ।

प्रदेश सरकारका मुख्य सचिव दीपक सुवेदी प्रदेशको वस्तुगत अवस्थाको आधार तयार गर्न प्रकाशित पुस्तक कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले प्रकाशित पुस्तकले प्रदेशको यथार्थ जानकारी प्राप्त हुन सक्ने छ भन्नुभयो । पुस्तकका प्रकाशक मनिष झाले पुस्तकमा सङ्कलित सूचनाले प्रदेश नं २ को विभिन्न क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने छ भन्नुभयो ।रासस

प्रतिक्रिया