विदुर नगरपालिका सेमिफाइनलमा

admin

विदुर, १९ वैशाख : विदुर नगर मेयरकप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आयोजक विदुर नगरपालिका विजयी भएको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको खेलमा विदुर नगरपालिकाले धादिङको धुनीवेशी नगरपालिकालाई ९–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । विदुर नगरपालिकाका लागि आशिस लामा एक्लैले ६ गोल गरेको एन्फा उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो । यस्तै विदुर नगरपालिकाका लागि विकास मगर, सन्तोष थापा र मोहन गुरुङले एक÷एक गोल गरेका थिए । 

खेलको १५ औँ मिनेटमा आशिसले पहिलो गोल गरेका थिए । लगत्तै धुनीवेशीका दीपेन्द्र रेग्मीले गोल फर्काएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष बद्रीबहादुर प्रधानले बताउनुभयो । मध्यान्तरपछिको खेलमा विदुरका लागि आशिसले लगातार ६८ आँै, ७८ औँ र ७९ औँ मिनेटमा गोल गरेका थिए । खेलको ‘म्यान अफ दी म्याच’ भएका उनले रु ५ हजार पुरस्कार प्राप्त गरे । शुक्रबार तनहुँको व्यास नगरपालिका र काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाबीच खेल हुनेछ । 

विदुर नगरपालिकाको आयोजना तथा जिल्ला खेलकूद विकास समिति र नुवाकोट फुटबल सङ्घको संयोजनमा भइरहेको प्रतियोगितामा ८ नगरपालिकाका फुटबल टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, उत्कृष्ट खेलाडीले रु १५ हजार तथा उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।  रासस

प्रतिक्रिया