विप्लपका तीन कार्यकर्ता पक्राउ

रिता घिसिंग

दमौली, १२ चैत (रासस) : नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, व्यास–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा छन् ।

पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँका अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन् । सुनार र कुमाललाई तिनकै घरबाट र बुढालाई बन्दीपुर गाउँपालिका–५ याम्पाबाट सोमबार राति पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूलाई आजै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराई अनुसन्धान थालिएको छ । उनीहरूका साथबाट चन्दा रसिद पनि बरामद गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले गत फागुन २८ गते चन्द समूहका जिल्ला सदस्य प्रेम शाहीलाई बन्दीपुर गाउँपालिका–१ बाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया