विप्लवका उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ

admin

काठमाडाैं, साउन ५ : नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।

गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटमा लामाको हात रहेको प्रहरीले दाबी गरेको छ । त्यसैगरी जेठ १२ गते काठमाडौंको घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटको योजनाकार पनि लामा नै रहेको भन्दै प्रहरीले खोजीको सूचीमा राखेको थियो ।

माओवादी जनयुद्धको सुरुवातदेखि नै पार्टीमा सक्रिय लामा सो समय बम बनाउने क्रममा विस्फोट भई घाइते भएका थिए । उनी २०६४ को संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ बाट उम्मेदवार भई झिनो मतले पराजित भएका थिए । लामो समय माओवादीको सांस्कृतिक विभागमा रहेर काम गरेका लामा गीतकार तथा संगीतकार समेत हुन् ।

विप्लवको उपत्यका ब्यूरोमा काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित धादिङ, नुवाकोट र रसुवा समेत पर्छन् । यो ब्यूरोको जिम्मेवारी लामाको थियो । पछिल्लो समय उनी सत्तारुढ दलका कतिपय नेताहरुसँग सरकार र विप्लव वार्ताको लागि अनौपचारिक संवादमा पनि थिए ।

प्रतिक्रिया