विश्वकप छनोट खेलको लागि खेलाडी छनोट

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १४ असोज  :  सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

यही असोज २३ गते हुने अष्ट्रेलियाविरुद्धको खेलको लागि अखिल नेपाल फुटबल सङ्घले २३ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने खेलाडीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् ।

त्यस्तै डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् । मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने फरवार्डमा विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

नेपालले छनोटको पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइलाई उसकै मैदानमा २–० गोललेले पराजित गरेको थियो । रासस

प्रतिक्रिया