विश्वविजेता महर्जनलाई सम्मान

admin

काठमाडौँ, १७ पुस : राष्ट्रको गौरव बढाएकोमा १० औँ वल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस फेडरेशन च्याम्पिनसिपका विश्वविजेता महेश्वर महर्जनलाई आज यहाँ सम्मान गरेको छ । मदन भण्डारी स्पोर्टर्स एकेडेमीको १०औँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उहाँलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो । 

सो अवसरमा मन्त्री विश्वकर्माले खेलकूद क्षेत्रबाट गरेको मेहेनत र परिश्रमले अन्तर्राष्ट्रिय तहमा मुलुकको प्रतिष्ठा बढेको उल्लेख गर्दै सातै प्रदेशमा अन्तर्राष्ट्रिय पूर्वाधारसहितको खेल मैदान निर्माण गरिने नीति सरकारको रहेको बताउनुभयो । मुलुकमा तल्लो तहदेखि नै खेलकूदको विकास गर्न सरकारले प्राथमिकता दिएको र ७५३ स्थानीय तहमा समेत यस क्षेत्रमा लगानी वृद्धि गरिने बताउँदै उहाँले खेलाडीलाई व्यवसायिक बनाउन सकेमा उनीहरु यसमा आकर्षित हुने धारणा व्यक्त गर्नुभयो । 

 

राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिनाले विद्यालय तहदेखि नै खेलाडी उत्पादन गर्न सकेमा यस क्षेत्रमा राम्रा जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले यस क्षेत्रको व्यवस्थित विकासका लागि खेलकूद विश्वविद्यालय स्थापना गर्न माग गर्दै खेललाई देशको आर्थिक समृद्धिसँग जोडनुपर्ने बताउनुभयो । एकेडेमीले फुटबल, भलिबल, क्रिकेट, ब्याटमिन्टन, मार्सल आर्टस्लगायत क्षेत्रको विकासमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । 

-रासस

प्रतिक्रिया