वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ हुने

admin

काठमाडौँ, २१ मङ्सिर: आगामी माघ २२ देखि २६ गतेसम्म ‘वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ’ प्रतियोगिता हुने भएको छ । आयोजक गणेशमान सिंह फाउण्डेसनले आज यहाँ पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेलकूद परिषद्को आर्थिक सहयोगमा वसन्तपुर डबलीमा प्रतियोगिता आयोजना गरिने जानकारी गराएको हो । फाउण्डेसनले यसअघि दुई संस्करण आयोजना गरिसकेको छ । सो प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपिएफ क्लबको सहभागिता रहनेछ ।

प्रतियोगितामा पुरुषतर्फ आठ तौल समूहमा तथा महिलातर्फ छ तौल समूहमा प्रतिष्पर्धा हुनेछ । पुरुषतर्फ ४६, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ किलो तथा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ किलो तौल समूहमा प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा ८० पुरुष र ६० महिलाको सहभागिता रहनेछ । सहभागी खेलाडीको प्रदेश छनोट मङ्सिर २८ देखि पुस २९ गतेसम्म हुनेछ ।

आयोजकका अनुसार प्रदेश नं १ मा छनोट चरणका खेल मङ्सिर २८ देखि पुस १ गतेसम्म, प्रदेश नं २ मा पुस ३ देखि ५ गतेसम्म, प्रदेश नं ३ मा पुस ६ देखि ९ गतेसम्म, गण्डकी प्रदेशमा पुस ११ देखि १४ गतेसम्म, प्रदेश नं ५ मा पुस १६ देखि १९ गतेसम्म, कर्णाली प्रदेशमा पुस २१ देखि २४ गतेसम्म र सुदूरपश्चिम प्रदेशमा पुस २६ देखि २९ गतेसम्म हुनेछ । प्रतियोगिताबाट बक्सिङ खेलको विकासका लागि महत्वपूर्ण सहयोग पुग्ने संयोजक श्रेष्ठले बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि राखेपले रु ५० लाख उपलब्ध गराएको छ । प्रतियोगिताका स्वर्ण विजेताले रु २५ हजार, रजत विजेताले रु १५ हजार र कास्य पदक जित्नेले रु ७ हजार पुरस्कार प्र्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट महिला र पुरुष खेलाडीले एक÷एक थान स्कुटर र मोटरसाइकल प्राप्त गर्नेछन् ।
-रासस

प्रतिक्रिया