व्यापारीलाई धम्की दिँदै रकम असुल्ने टोले गुण्डा पक्राउ

admin

काठमाडौं, असार ३१: राजधानीमा गुण्डागर्दीमार्फत व्यवसायीबाट हप्ता असुल्ने धन्दामा सक्रिय निमा लामा भन्ने राजेन्द्र लामालाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले पक्राउ गरेको छ । लामालाई काठमाडौंको कोटेश्वरबाट प्रहरी निरीक्षक एलिजा गिरीले मंगलबार बिहान पक्राउ गरेकी हुन् । लामाका हरेक अराजक र गैरकानूनी क्रियाकलापबाट आजित बनेका सर्वसाधारणहरूको उजुरीपछि निरीक्षक गिरीले पक्राउ गरेकी हुन् ।

काभ्रेपलाञ्चोक जिल्ला स्थायी घर भएका ‘टोले गुण्डा’ लामाले बानेश्वर, कोटेश्वर र काँडाघारी क्षेत्रका व्यवसायीहरूलाई डर, त्रास र धाकधम्की दिएर महिनावारी उठाउने गरेको उजुरी प्रहरीमा परेको थियो । महिनावारी नदिए मार्नेसम्मको धम्की दिँदै आएका लामालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो । लामालाई प्रहरीले ०७२ चैत १० गते नेविसंघका नेताहरूलाई कुटपिट गरेको अभियोगमा मुद्धा चलाएको थियो ।

‘टोले गुण्डा’ लामा ०६२ सालमा ज्यान मार्ने उद्योगमा ३ वर्ष जेल समेत परेका थिए । दरबारमार्ग र सिनामंगल क्षेत्रमा व्यवसायी धम्काएको अभियोगमा समेत उनी पक्राउ परिसकेका छन् । प्रहरीले लामालाई निगरानीमा राख्दै आएको थियो । लामाले मुस्कान ब्यूटीपार्लर समेत सञ्चालन गर्दै आएका छन् । प्रहरीको सूचीमा ‘ग’ श्रेणीका ‘गुण्डा’ भनेर चिनिएका लामा काभ्रेको भीमखोरी गाविस–२ करम डाँडाका स्थायी बासिन्दा हुन् ।

सिनामंगल क्षेत्रका मेनपावरमा हप्ता असुली, धाकधम्की र सामान्य ठेक्कापट्टाको आवरणमा गुण्डागर्दी गर्दै आएका लामाले धाकधम्की दिएर हप्ता असुली गर्ने गरेको सूचनाका आधारमा प्रहरीले कडा निगरानी बढाएको थियो । काठमाडौंका अबैध जुवा खालबाट पैसा लुटपाट गर्ने धन्दामा समेत लामा संलग्न रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया