शुक्लाफाँटामा सात सय पर्यटक

कृष्ण रोकाया

कञ्चनपुर, २८ पुस : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आवको चार महीनामा ७६० जना पर्यटकले अवलोकन गरेका छन् । चालु आवको असोजदेखि पुस महीनासम्म स्वदेशी ६८६, सार्क मुलुकका ३७ र विदेशी ३७ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् ।

आव २०७४÷७५ को असार मसान्तदेखि चालु आवको भदौ मसान्तसम्म चार हजार २८१, सार्क मुुलुकका २६६ र विदेशी १९३ जना गरी चार हजार ७४० जना पर्यटकले अवलोकन गरेका थिए । निकुञ्जको प्रचारप्रसार, आरक्षबाट निकुञ्जमा स्तरोन्नति र निजी क्षेत्रबाट पर्यटक बढावाका लागि गरिएका प्रयासले पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको निकुञ्जका सूचना अधिकारी उत्तम चौधरीले बताउनुभयो ।

निकुञ्ज घुम्न आउने स्वदेशी, विदेशी पर्यटकको रोजाइमा घाँसे मैदान, सिमसार क्षेत्र, तालतलैया, पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, निलगाई, चितुवा, चितल, लगुना, बँदेल, खरायो र विभिन्न प्रजातिका चरा पर्ने गर्दछन् ।

एक पटक निकुञ्ज घुम्न आउने पर्यटक दोहो¥याएर घुम्नका लागि पुग्ने गरेको चौधरी बताउनुहुन्छ । उहाँका अनुसार दैनिक सात जनादेखि १० जना बढी विदेशी पर्यटक निकुञ्ज अवलोकनका लागि पुग्ने गरेका छन् । ३०५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज बाह्रसिङ्गाको सबैभन्दा ठूलो बथान र दुर्लभ पशुपक्षी तथा वनस्पतिका लागि प्रसिद्ध रहेको छ ।

नेपालको तराईका संरक्षित क्षेत्रमा रहेको घाँसे मैदानमध्ये शुक्लाफाँटा घाँसे मैदान सबैभन्दा ठूलो घाँसे मैदानका रुपमा रहेको छ । क्षेत्रफलका हिसाबले सानो भए पनि निकुञ्जमा धेरै प्रकारका दुर्लभ वन्यजन्तु, पक्षी र वनस्पति पाइने गरेको छ । निकुञ्जले पर्यटकको सुविधाका लागि हात्ती, गाडी सफारीसँंगै ठाउँठाउँमा जीवजन्तु र प्रकृतिको मनोरम दृश्य नियाल्नका लागि मचानको व्यवस्था समेत गरेको छ ।

निकुञ्ज घुम्न आउने पर्यटकले छुटाउनै नहुने क्षेत्रका रुपमा शुक्लाफाँटा घाँसेमैदान, रानी ताल, सिहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, हिरापुरफाँटा, झोलुङ्गे पुल, कालिकिच ताल, निकुञ्जभित्रका सीमसार क्षेत्र र राना थारु घरवासलगायत रहेका छन् ।

चालु आवको साउनदेखि पुसको हालसम्म गरी निकुञ्जले झण्डै रु ३३ लाख राजश्व समेत सङ्कलन गरेको छ । निकुञ्जले निकुञ्ज प्रवेश दस्तुर, हात्ती सफारी, दण्ड जरिवाना, सवारी दस्तुर, ढुङ्गा, बालुवा निकासी, चरिचरन दण्ड जरिवाना, बोलपत्र आह्वान, काठ बिक्री र खरखडाइवापत राजश्व सङ्कलन गरेको हो । रासस

प्रतिक्रिया