श्रमको समुचित परिचालनबाट मात्रै समृद्धि सम्भव हुन्छ : मन्त्री बाँस्कोटा

राष्ट्रिय समाचार समिति

बागलुङ, १ भदौ: सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ज्ञान, पूँजी, प्रविधि र श्रमको समुचित परिचालनबाट मात्रै समृद्धि सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ । ढोरपाटन राष्ट्रिय दैनिक पत्रिकाको १६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयको बहसमा प्रमुख अतिथि मन्त्री बाँस्कोटाले कसैको भिक्षा दानले देश नबन्ने तर्क गर्नुभयो । “आफ्नो देश आफैँ बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “मित्रहरुको भर परेर हुँदैन ।” मन्त्री बाँस्कोटाले भूकम्पपछिको पुनःनिर्माणमा प्रतिबद्धता अनुसारको वैदेशिक सहयोग नआएको उल्लेख गर्नुभयो ।

उहाँले नेपालीको सुख र समृद्धि राष्ट्रिय सङ्कल्प हो भन्नुभयो । “सपनाहरु मुर्छाबाट ब्युँझेका छन्, समृद्धिको सङ्कल्प कार्यान्वयनमा अनुदित हुँदैछ, अब अलमल गर्नुपर्ने केही छैन”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “श्रम संस्कृतिमा ह्रास आइरहेको भन्दै उहाँले पढ्नु भनेको निर्देशक बन्ने मात्र होइन भन्नुभयो । मन्त्री बाँस्कोटाले हरेक नेपाली श्रम र उत्पादनसँग जोडिनुपर्ने धारणा राख्नुभयो । मन्त्रीलाई पनि अब भाषण गर्दै हिँड्ने फुर्सद नमिल्ने भन्दै उहाँले भन्नुभयो, “मन्त्रीले प्रधानमन्त्रीसँग र सचिवले मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।”

प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले समृद्धिकै लागि सङ्घीय प्रणाली ल्याइएको बताउनुभयो । ठूला र राष्ट्रिय महत्वका आयोजना अगाडि बढेको भन्दै केही वर्षभित्रै विकासले फड्को मार्ने उहाँको भनाइ छ । सरकारले केही गर्न खोज्यो कि स्वार्थ समूह विरोधमा आउने प्रवृत्ति गलत भएको उहाँको टिप्पणी छ ।प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले सङ्घीयता कार्यान्वयनसँगै मुलुक विकास र समृद्धिको लक्ष्यमा अघि बढेको बताउनुभयो । “यो कसैले भनेर ल्याएको सङ्घीयता होइन, हाम्रै विशेषताअनुसार हामीले नै ल्याएको हो, सफल भएरै छोड्छ ।”

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले तीन तहका सरकारबीच समन्वयको खाँचो औँल्याउनुभयो । “स्थानीय तहमा सबैभन्दा ठूलो कर्मचारी व्यवस्थापनको समस्या छ”, उहाँले भन्नुभयो, “बजेट र अधिकार क्षेत्रमा पनि केही अन्योल देखापरेका छन् ।” प्रमुख पौडेलले सङ्घीयतापछि खारेज भएका जिल्ला कार्यालयहरु पुनःस्थापना भइरहेको उल्लेख गर्नुभयो । “पचास हजार÷लाखका कार्यक्रम सङ्घ, प्रदेशबाटै आउने भएपछि स्थानीय तह किन चाहियो ?” उहाँले भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव उजिर मगरले समतामूलक समाज निर्माणका लागि सङ्घीयता आएको बताउनुभयो । “समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्त सङ्घीयताको आधार हो”, उहाँले भन्नुभयो । पत्रिकाले वार्षिकोत्सवका अवसरमा ‘सङ्घीयतामा समृद्धि’ शीर्षकमा विशेषाङ्कसमेत प्रकाशन गरेको छ । उक्त अङ्कमा समृद्धिका मुद्दाबारे विभिन्न क्षेत्रका व्यक्तिका लेख समावेश गरिएको छ ।

विसं २०६० सालमा बागलुङदेखि प्रकाशन शुरु गरेको ढोरपाटन दैनिक हालै मात्र गण्डकी प्रदेश राजधानी पोखराबाट प्रकाशन तथा वितरण हुन थालेको छ ।वार्षिकोत्सवका अवसरमा विसं २००८ मा प्रकाशित बागलुङको पहिलो हस्तलिखित पत्रिका ‘सही बाटो’ का सम्पादक एवं समाजसेवी ओमकार गौचनलाई सम्मान गरिएको थियो । स्तम्भकार, उत्कृष्ट कर्मचारी र विज्ञापनदातालाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया