श्रृङ्खला भन्छिन्,’म अभिनयमा आउँदिन’

रिता घिसिंग

मिस नेपाल श्रृङ्खला खतिवडाले आफुलाई फिल्मी क्षेत्रमा आउने कुनै रुची नभएको बताएकी छिन् ।‘मिस बर्ल्ड’मा भाग लिएर भरखरै नेपाल आएकी श्रृङ्खलाले आफुलाई अभिनय गर्न नआउनुका साथै क्यामेराको अगाडि उभिंदा खुशी नमिल्ने भएको कारण फिल्मी दुनियाँमा चासो नलाग्ने प्रतिक्रिया दिएकी हुन् ।

यस अघिका मिस नेपालहरु करियर अघि बढाउन फिल्मी दुनियाँमा प्रवेश गर्ने र अझैपनि धेरै जसो स्थापित हुनलाई संघर्षरत रहेको देखिन्छ । अघिल्लो वर्षकी मिस नेपाल निकिता चण्डक मिस नेपालको एक बर्षे कार्यकाल सकिने बित्तिकै फिल्मी क्षेत्रमा प्रवेश गरिन् तर उनलाई अफर गरिएको फिल्मको अझै शुटिङ शुरु भएको छैन ।पूर्व मिस नेपाल मलिना जोशी, सृष्टि श्रेष्ठ, सुमी श्रेष्ठ फिल्ममा जम्न संघर्षरत छन् । केही मिस नेपाल त फिल्ममा स्थापित हुन नसकेर पलायन समेत भइसकेका छन् ।

यस्तैमा यस वर्षकाे मिस नेपाल हुँदै ‘मिस बर्ल्ड’को उत्कृष्ट बाह्रसम्म पुगेर बाहिरिएकी श्रृङ्खला अाफुलाई अभिनेत्री बन्ने रहर नभएको बरु आफुले अध्ययन गरेको विषय र क्षेत्रमै केहि गरेर देखाउने धोको रहेको बताउँछिन् ।श्रृङ्खलाले आर्किटेक्ट इन्जिनियरिङमा स्नातक गरेकी छिन् ।

श्रृङ्खला भन्छिन्,’म अभिनयमा आउँदिन, हामीले त्यही गर्नुपर्छ जुन कुरामा हामीलाई खुशी मिल्छ ।’

प्रतिक्रिया