संस्कृति संरक्षणमा सरकारको जोड दिएको छ : मन्त्री अधिकारी

admin

पर्वत, २५ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले पुरानो संस्कृति संरक्षणलाई जोड दिएको बताउनुभएको छ ।

उत्तरी पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा निर्मित कोत मन्दिरको बिहीबार उद्घाटन गर्दै मन्त्री अधिकारीले मुलुकको ऐतिहासिक संस्कृतिलाई जोगाउनका लागि राज्यले विशेष प्राथमिकता दिएको बताउनुभयो ।

मुलुककै नमुना पर्यटकीय गन्तव्य बनाउनका लागि मुलुकभित्रका सम्भावनाको प्रचारप्रसारलाई जोड दिइएको बताउँदै अबको पाँच वर्षभित्रमा मुलुकका अधिकांश स्थानमा पर्यटन पूर्वाधार भइसक्ने ठोकुवा गर्नुभयो ।

बाह्रौँ शताब्दीमा निर्मित कोत भगवती मन्दिरको पुनःनिर्माण तथा संरक्षणमा मल्लाज स्थायी घर भई हाल काठमाडाँैको ताहचल बस्ने शिवकुमार श्रेष्ठले स्वर्गीय मातापिता बाबुलाल र बालकुमारी श्रेष्ठको स्मृतिमा करीब रु ३५ लाखको लागतमा सो मन्दिरको पुनःनिर्माण गर्नुभएको हो ।

बाइसे चौबिसे राज्यका पालामा निर्मित कोत मन्दिर जिल्लाकै पुरानो भएपछि संरक्षणका सरकारी बजेटले प्राथमिकता नपाएपछि स्थानीयको सक्रियतामा रु एक करोड २० लाख लगानीमा विभिन्न पूर्वाधार निर्माण गरिएको थियो ।

धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने स्थानीयले बनाएको गुरुयोजनाअनुसार मन्दिरका साथै पदमार्ग, बाघको शालिक, देवी भुमेथान, प्रवचन सत्तल भवन लगायतका संरचनासमेत बनाइएको मल्लाज कोत निर्माण समितिका अध्यक्ष क्याप्टेन टेकबहादुर जिसीले बताउनुभयो ।

विसं २०७२ मङ्सिर २५ देखि पुुुस ५ गतेसम्म सञ्चालित श्रीमद्भागवत तथा धनधान्याञ्चल विश्व शान्ति ज्ञान महायज्ञमार्फत सङ्कलित रकमबाट मन्दिरको पुनःनिर्माण, पूजास्थल निर्माण, भवन निर्माण, खेल मैदान विस्तार गरी प्याराफिट निर्माण गरिएको मल्लाज कोत मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

साविकका पाँच वटा गाविसको एउटै कोत मन्दिर तत्कालीन मल्लाज राज्यका राजाले पूजाआजाका लागि निर्माण गरिएको थियो । महायज्ञमा घोषित रकम थप सहयोग उठ्न बाँकी रहेकाले पनि थप पूर्वाधार विस्तारमा समस्या भएको बताइएको थियो ।

हरेक वर्षको रामनवमी र वडा दशैँको समयमा पूजाआजा हुने उक्त कोत मन्दिरको दर्शन तथा पूजाआजा गरेमा मनोकामना पूरा गर्ने जनविश्वासले जिल्ला बाहिर बसोबास गर्ने मल्लाजवासीसमेत पूजा गर्न आउने गरेका छन् । पर्यटनमन्त्री अधिकारीले धार्मिक तथा पूर्वाधार विस्तारमा प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताउनुभयो ।

सोही अवसरम पूर्वसांसद अर्जुनप्रसाद जोशी, जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल, वडा अध्यक्ष देवेन्द्रबहादुर भण्डारीलगायतले कोत मन्दिरलाई धार्मिक विश्वास, ऐतिहासिकस्थल, मल्लाज दरबार र म्याग्दी सदरमुकाम बेनीलाई जोडेर प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।

मल्लाजबाट म्याग्दीको सदरमुकाम बेनी, धार्मिकस्थल गलेश्वर मन्दिर, पुलाआश्रमका साथै धौलागिरि हिमालको दृश्यावलोकन पनि गर्न सकिन्छ । कार्यक्रममा शरण कर्माचार्यले कोत मन्दिरको एतिहासिक विषयमा जानकारी गराएका थिए । रासस

प्रतिक्रिया