सञ्जु बाबाको जीवन फेरिँदै, दिए दुनियाँ रुवाउने सन्देश, श्रीमती र बच्चालाई के भने ? [भिडियो सहित]

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : मानिसको जीवन कहाँबाट कहाँ पुग्छ भन्ने कुरा सायद कसैलाई थाहा नहोला। आफुले देखेको, सुनेको अनि सोचेको जस्तो धेरै मानिसको जीवनमा हुँदैन। यस्तै आफुले सोचेको अनि देखेको जस्तो जीवन जिउन नपाएका एक पात्र हुन् सञ्जु बाबाको नामले परिचित संजिव क्षेत्री। हुनेखाने नै परिवारको एक्लो छोरो, संजिवको जीवनमा के कमी थियो होला र? कसरी उनी कुलतमा फसेर एचआइभी एड्सको शिकार बन्न पुगे ?

राम्रो परिवार, राम्रो काम र राम्रै कमाइ हुँदाहुँदै पनि साथीभाईको लहैलहैमा लागेर कुलतमा फसेका सञ्जु बाबाको रगतमा विगत १९ वर्ष देखि एचआइभीको जीवाणु सलबलाई रहेको छ। तर मानिसको जीवनमा जतिसुकै अध्यारो भए पनि कुनै न कुनै दिन उज्यालो अवश्य आउँछ भनेझै अहिले उनले नयाँ जीवन पाएका छन् । केहि युटुबका पत्रकार साथीहरुको सहयोगमा आज सन्जु बाबा आफु एचआइभी संक्रमित हो भनेर हिम्मतका साथ मिडियामै खुलेर आएका छन् र उपचारको लागि एक संस्थामा रहेका छन्। हिजोसम्म रुँदै अन्तर्वार्ता दिएका उनी अहिले आफ्नो जिन्दगीसँग खुशी छन। अब उनी आफ्नो लागि भन्दा पनि अरुको लागि बाच्न चाहन्छन् । आफुलाई दुर्व्यसनी र एचआइभी संक्रमित भनेर घृणा गर्ने समाज र आफु माथि विश्वास गर्नेहरुको सामु केहि गरेर देखाउन चाहन्छन् ।

पिएनपिखबरडटकमसँगको अन्तर्वार्तामा संजु बाबाले आफु कसरी यो स्थितीमा आइपुगेको बताएका छन्। आफुलाई जन्म दिने आमाको मृत्यु पश्चात सञ्जु बाबाको घरमा सानी आमाको प्रवेश भयो। जब सानी आमाको प्रवेश भयो तब उनी बाबुको माया पाउनबाट बञ्चित भए। घरमा सबैबाट एक्लो बनेपछि सञ्जु पारिवारिक दु:ख बिर्साउन साथी संगतको सहारा खोज्न गए। तिनै साथी संगतले गर्दा उनी नसामा फस्न पुगे र नसाकै तालमा रमाउन थाले।

दुइ श्रीमती र चार छोराछोरीका बुवा सञ्जु आफ्नो परिवार भन्दा पनि नसामै रमाउन थाले। नसाको सहारामा रमाउँदा रमाउदै उनलाई कति बेला एचआइभी संक्रमण भयो पत्तै भएन। उनलाई आफु एचआईभी संक्रमित भएको १९ वर्ष अघि थाहा भएको थियो। जब उनलाई आफु एचआईभी संक्रमित भएको थाहा भयो तब उनी नसाकै तालमा दिनभरि ठमेल क्षेत्र वरिपरिको सडक-सडक भौतारीएर हिड्ने र रात परेपछि सडकपेटीमै कार्टुन ओछ्याएर सुत्न थाले।

एचआईभी संक्रमित भएको थाहा भएपछी उनी आफ्नै परिवारबाट अपहेलित भए। विशेष गरि एउटै कोखबाट जन्मिएका दिदिबहिनेहरुबाट छिछि र दूरदूर सहन बाध्य भए। सोह्रखुट्टे क्षेत्रको एक होटलमा खाना खाँदा आफु एचआईभी संक्रमित हो भन्ने होटल साहुनीले थाहा पाएपछि उनले खाएको थाल डष्टबिनमा लगेर फालिदिएको नमिठो अनुभव पनि उनले हामीसँगको कुराकानीमा बताए।

सबैबाट घृणा र तिरस्कार पाएका उनले कान्छी श्रीमतीसँग भने एचआईभी संक्रमित भएको थाहा हुँदैहुँदै सहमतिमै विवाह गरेको बताउछन्।

सडक जीवन त्यागेर नयाँ जीवन जीउने कोशिस गर्दै गरेका सञ्जु बाबासँग गरिएको प्रेरणादायी कुराकानी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू