ब्रिसबेनमा आयोजित ‘सपोर्ट फर च्यारिटी इभेन्ट’ कार्यक्रम भब्य रुपमा सम्पन्न

पूजा बानियाँ

पिएनपीखबर, पुजा बानियाँ। दृष्टिविहीन बालबालिकाहरुलाई शिपमुलक तालिम उपलब्ध गराउन साथै बासस्थान निर्माणका लागि सहयोग जुटाउन अस्ट्रेलियाको ब्रिसबेन शहरमा ‘सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट’ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। ब्रिसबेनमा ‘ब्ल्याक आई क्रियशन’ का संचालक राजु कानले च्यारिटी डिनरको आयोजना गरेका हुन्। 

जुलाई ४ तारिखमा सम्पन्न भएको कार्यक्रममा महानायक राजेश हमाल, हास्यकवी शैलेन्द्र सिंखडा, दृष्टीबिहिन गायिका मेनुका पौडेल र गायिका एन्जिला रेग्मी सहगागी थिए।

कार्यक्रममा राजेश हमालसंग व्रिजवेनका पत्रकार डाक्टर भरतराज पौडेलले स्टेजमै अन्तरंग कुराकानी गरेका थिए भने हास्यकवी सिंखडाले समसामयिक विषयमा व्यङ्ग्य गरेका थिए। गायिका मेनुका पौडेल र गायिका एन्जिला रेग्मीको सुरिलो स्वरमा दर्शक झुमेको प्रस्ट देखिन्थ्यो।

३५ डलर टिकट रहेको कार्यक्रममा दर्शकको कमि थिएन। करिव दुई सय भन्दा बढी दर्शकको भिड रहेको कार्यक्रममा व्यक्तिगत सहयोग गर्ने मनकारी नेपाली जनसमुदायलाई स-सम्मान सहयोगको कदर गरिएको थियो।

‘ब्लाक आइ क्रियसन’ का संचालक राजु कानको अनुसार उक्त कार्यक्रममा आठ हजार डलर भन्दा बढी रकम संकलन भएको छ। उक्त रकम पारदर्शीताका साथ कार्यक्रमको परिकल्पना गर्ने महानायक हमाललाई हस्तान्तरण गरिने उनको भनाई रहेको छ।

रकम संकलन कम भएको भनेर विवादित भएको समाचारले आफुलाई निकै दुखित बनाएको भन्दै कानले कार्यक्रममार्फत उठेको एक एक डलरको हिसाब पारदर्शी रहने जानकारी दिएका छन्। विद्यार्थीसँग अप्ठ्यारो अवस्था सिर्जना गरी हमालले स्वयमले चन्दा उठाउदा करकापमा पारेको समाचार मिथ्था रहेको भन्दै उनले कार्यक्रममा सहभागी दर्शक अधिक विद्यार्थी नभई व्यवसायी र एनआरएनएका दुवै प्यानलका सदस्यहरुको उपस्थिति रहेको बताएका छन्।

च्यारिटीका लागि ३५ डलरको टिकट काटेर हलमा पुगेका सहभागीहरुसँग कार्यक्रमको अन्त्यतिर उद्घोषक र महानायक टेबल टेबलमै पुगेर सहभागीकोे व्यक्तिगत विवरण भन्दै चन्दा मागिएको खबर अफवाह मात्र भएको सहभागीको भनाई छ।

दृष्टीबिहिन बालबालिकाका लागि यसअघि तास्मानिया र गोलकोष्टमा च्यारिटी डिनर आयोजना भइसकेको छ । त्यस्तै जुलाई ८ मा टोअम्बा, जुलाई १२ मा सिड्नी, १३ मा एडिलेड र १४ जुलाईमा मेलर्वनमा पनि च्यारिटी डिनर हुदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू