सबै धर्माबलम्बीको आस्थाको मठमन्दिर एउटै थलोमा

admin

भद्रपुर, १ मङ्सिर: भिन्नाभिन्नै धर्ममा आस्था राख्ने विभिन्न आठ जातीय समुदायको मठमन्दिर एकै स्थानमा छन् भन्दा पत्याउन गाह्रो हुन्छ तर झापाको भद्रपुर–२ कमलधापस्थित एउटै परिसरमा हिन्दू, किराँत, बौद्धलगायत अलगअलग धर्म मान्ने आठ जातिका मठमन्दिर सामूहिक रूपमा स्थापना गरिएका छन् ।

नेपाल धर्मनिरपेक्ष घोषणा हुनुभन्दा अघि विसं २०५० तिरै कमलधाप रामपोखरी सामुदायिक वनको पाँच बिघा सार्वजनिक जग्गामा ती मठमन्दिर र गुम्बा निर्माण भएका हुन् । विभिन्न जातजाति र भाषाभाषीको बसोवास रहेको यहाँका बासिन्दाको सबै धर्मका मठमन्दिर रहेको सो क्षेत्रलाई अब धार्मिक पर्यटकीयस्थल बनाउन नगरपालिका र स्थानीयवासी जुटेका छन् ।

सर्वधर्म धार्मिकस्थल बन्नुअघि सो क्षेत्रमा किराँती समुदायको शव गाड्ने कपुरथान रहेको संयुक्त धार्मिकस्थल कमलधापका सञ्चालक समिति अध्यक्ष मानु तामाङले बताउनुभयो । उहाँले नेपालमा सबैभन्दा धेरै जातजातिका मठमन्दिर रहेको संयुक्त धार्मिकस्थल कमलधाप नै भएको जिकीर गर्दै पर्याप्त प्रचारप्रसारको अभावमा यसको महत्व ओझेलमा परेको हो भन्नुभयो ।

झापाको दक्षिण क्षेत्रमा रहेको पर्यटकीयस्थल किच्चकबध र नेपालको होचो स्थान केचनकवल नजिक रहेका कारण पनि यस संयुक्त धार्मिकस्थललाई पर्यटकीय आकर्षणको नयाँ केन्द्रका रूपमा विकास गर्न सकिनेमा जोड दिँदै अध्यक्ष तामाङले यहाँ हिन्दू धर्मावलम्बीको शिवालय, मगर, तामाङ र गुरुङका छुट्टाछुट्टै गुम्बा, लिम्बूको माङ्हिम, राईको साकेला थान, थामी समुदायको भूमेथान र सन्थालको कालिथान रहेकामा अब मुश्लिम समुदायको मस्जिद र क्रिश्चियन धर्मावलम्बीको चर्च बनाउने तयारी भइरहेको बताउनुभयो । चर्च र मस्जिद निर्माण भएपछि उक्त संयुक्त धार्मिक क्षेत्रमा भिन्नाभिन्नै आस्थाका मठमन्दिरको सङ्ख्या १० पुग्नेछ ।

बुद्ध जयन्तीका दिन गुम्बामा विशेष पूजाआजा गरिने भएकाले वैशाख पूर्णिमाका दिन यहाँ भव्य मेला लाग्ने गरेको छ । सबै धर्मको पूजा र मेला लाग्ने आफ्नै तिथि र संस्कृति भएका कारण सोही अनुरुप यहाँ धार्मिक कार्यक्रम पनि हुँदै आएको छ । एक धर्मले अर्को धार्मिक समुदायको कार्यक्रममा सघाउने चलन पनि छ । कमलधाप जातीय एकता, धार्मिक सद्भाव र सहिष्णुताका लागि मुलुककै नमूना रहेको र यो ऐतिहासिक धार्मिकस्थललाई पर्यटकीयस्थलको रूपमा विकास गर्नका लागि आफू लागिपरेको भद्रपुर–२ का वडाध्यक्ष भीम केरुङले बताउनुभयो ।

उहाँले संयुक्त धार्मिक क्षेत्र घेर्नेगरी पर्खाल लगाउन वडाबाटै रु. ४ लाख बजेट चालू आर्थिक बर्षमा छुट्याइएको जानकारी दिनुभयो । यस क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि प्रदेश नं १ का अर्थमन्त्री इन्द्र आङ्बोले गत असोजमा सो स्थानको अवलोकन भ्रमण पनि गर्नुभएको थियो ।

धार्मिक क्षेत्रको छेउमा कमलधाप पोखरी रहेको र त्यस पोखरीको संरक्षण गर्दै पर्यटकीय आकर्षण बढाउन भद्रपुर नगरपालिकाले चालू आवको बजेटबाट रु २५ लाख रकम छुट्याएको र सो बजेटबाट पोखरीमा डुङ्गा सयर गराउने र झोलुङ्गे पुल तथा आकाशे पुल बनाउनाका साथै पोखरी वरिपरि बगैँचा र बाल उद्यान बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया