समान व्यवहार नभएसम्म विकास हुँदैन : मुख्यमन्त्री राउत

राष्ट्रिय समाचार समिति

महोत्तरी, ३ साउन: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले छोराछोरीबीच समान व्यवहार नभएसम्म प्रदेशको विकास सम्भव नहुने बताउनुभएको छ । महोत्तरीको गौशालास्थित श्रीमावि निगौलका छात्रालाई साइकल वितरण गर्नुहुँदै उहाँले समाजमा कायम महिला हिंसा अन्त्य नभएसम्म प्रदेशमा समृद्धि आउन नसक्ने बताउनुभयो । नारा, अभियान र भाषणले मात्र केही नहुने मुख्यमन्त्री राउतको भनाइ थियो ।

महिला हिंसा न्यूनीकरण गर्नका लागि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानले सहयोग गर्ने उहाँले बताउनुभयो । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले नारीलाई शिक्षित गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य भरतप्रसाद साह, गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतो, लक्ष्मी महतो, रामकुमारी देवीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया