सरकारका क्रियाकलाप विकासमा केन्द्रित छ : प्रधानमन्त्री

admin

काठमाडौँ, ९ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकसित बनाउने उद्देश्यका साथ सरकारले आफ्ना क्रियाकलाप अगाडि बढाएको बताउनुभएको छ । जनसांस्कृति महासङ्घद्वारा आज आयोजित ‘परिवर्तनका स्वर भाग–२’ गीति एल्बम विमोचन कार्यक्रममा उहाँले विकासका आधार तयार भइसकेकाले अबका दिनमा विकासका मुद्दालाई एकताबद्ध गर्ने बताउनुभयो । उहाँले गीतकार एवं पूर्वप्रधानमन्त्री झलनाथ (जेएन) खनालद्वारा रचित उक्त एल्बम सार्वजनिक गर्नुभयो ।

“मुलुकलाई विकसित बनाउने हामीसँग स्पष्ट दृष्टिकोण र सङ्कल्प रहेको छ”, उहाँले भन्नुभयो, “अब मुलुकलाई अलमलमा नपारी विकास र सुशासनको बाटोमा अघि बढाउनेछौँ ।” प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि दिनदिनै नयाँ संरचना बनाउनका लागि उद्घाटन शिलान्यास गर्दै गइरहेको उल्लेख गर्नुभयो । “आर्थिक विकासलाई तीव्रता दिइएको छ । दिनदिनै नयाँ योजनाको शिलान्यास हँुदै आएका छन्”, उहाँले भन्नुभयो, “हरेक दिन एक कदम अगाडि नेपाललाई बढाउने उद्देश्यका साथ काम भइरहेको छ । कृषि, उद्योग, पर्यटन र ऊर्जा क्षेत्रका काम अगाडि बढेका छन् ।” प्रधानमन्त्री ओलीले नेपाली जनतालाई सुख दिने गरी मुलुक तीव्र परिवर्तनका क्रममा रहेको दावी गर्नुभयो ।

“देशमा सङ्घीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तीव्रताले देशमा परिवर्तनकाक्रम बढेको छ”, उहाँले भन्नुभयो, “विकास र समृद्धिको अभियान सञ्चालन भएसँगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ ।” प्रधानमन्त्री ओलीले लोकतन्त्रको वास्तविक रक्षा गर्दै जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने काम गर्ने बताउनुभयो ।

“हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, औषतमा साक्षरता बढ्यो भन्ने कुरामा विश्वास गर्दैनौँ”, उहाँले भन्नुभयो, “हरेक व्यक्तिले महसुस गर्नेगरी समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौँ । सरकार सामाजिक न्यायसहितको समानताको पक्षमा छ ।” प्रधानमन्त्री ओलीले सुशासन, पारदर्शीता र उत्तरदायी भएर जनतालाई सहुलियत सेवा कसरी बनाउने भन्नेमा सरकार प्रतिवद्ध भएर लागेको दावी गर्नुभयो । उहाँले सामाजिक न्यायसहितको समाजवाद ल्याउन आफूहरु लागिपरेको भन्दै शिक्षा र स्वास्थ्यमा गुणात्मक परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो ।

कला, संस्कृति साहित्यमा अग्रगमन समृद्धि ल्याई समतामूलक समाज निर्माण गर्नुपर्नेमा उहाँको भनाइ थियो । उहाँले अन्धविश्वास र पछौटेपनलाई परिवर्तन गर्नका लागि सामाजिक जागरण आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसक्नुभएका नेता खनालको बहुआयामिक प्रतिभाका रुपमा समेत प्रस्तुत हुनुभएको बताउनुभयो । उहाँले खनालका गीतमा देश प्रेम तथा राष्ट्रिय एकताको भावना रहेकाले मुलुकको परिवर्तनतर्फ गएको सङ्केत गरेको बताउनुभयो । “व्यस्त दैनिकीबाट समय निकालेर झलनाथले यति राम्रो सिर्जना गर्नुभएको छ”, उहाँले भन्नुभयो, “उहाँको सिर्जनशीलता धेरैका लागि प्रेरणाको स्रोत हुनसक्छ ।”

कार्यक्रममा गीतकार खनालले राजनीतिक परिवर्तन पूरा भइसकेकाले आर्थिक परिवर्तन गरेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो । उहाँले सामाजिक, आर्थिक रुपान्तरणका लागि अहिले उपयुक्त अवसर रहेकाले अशिक्षा, बेरोजगारजस्ता पछौटेपनलाई उन्मूलन गरी मुलुकमा समृद्ध ल्याउनुपर्ने बताउनुभयो । उहाँले गीतमा रहेका शब्दले मुलुकलाई आर्थिक विकास गर्नमा सहयोग पु¥याउने दावी गर्नुभयो ।

आफ्नो गीतमा सामाजिक रुपान्तरण गर्न, विकास, स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाभिमानका विषय रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आफू राजनीतिक व्यक्ति भएको पनि फुर्सदको समयमा गीत लेख्ने गरेको सुनाउनुभयो । “म राजनीतिक व्यक्ति हुँ । मेरो पहिचान राजनीतिक हो”, उहाँले भन्नुभयो, “कहिले फुर्सदमा गीत लेख्ने गर्दछु ।”

उक्त एल्बममा देशको माया, एकता, अग्रगामी, युवा, श्रमिक र इलामका बारेमा १० वटा गीत रहेका छन् । उक्त एल्बममा रहेका गीतको सङ्गीत मिलन तिमिल्सेनाले गर्नुभएको छ भने गीत यम बराल, आनन्द कार्की, ज्ञानु राना, प्रह्लाद कार्की, खुमन अधिकारी, राजु बराललगायत कलाकारले गाउनुभएको छ । खनालले यसअघि विसं २०६५ फागुनमा ‘परिवर्तनका स्वर भाग–१’ एल्बम निकाल्नुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया