‘सरकारका राम्रा काम ढाकछोप गर्न चौतर्फी घेराबन्दी’ :मन्त्री जम्मकट्टेल

admin

हेटौँडा, २ असार: प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले अहिले सरकारले गरेका कामको गलत तरिकाले व्याख्या भइरहेको बताउनुभएको छ । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको क्षेत्रीय अधिवेशन समारोहमा उहाँले सरकारले गरेका राम्रा कामको ढाकछोप गर्न चौतर्फी घेराबन्दी गरिएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “हामीले गुठी बचाउनका लागि ल्याएको गुठी विधेयक हामीले संसद्मा लगेर परिमार्जन गरेर जनताको पक्षमा बनाई गुठी संरक्षण गर्न सक्छौँ, तर यसलाई समेत हाउगुजी बनाएर अरूलाई भड्काएर सरकारको विरोध गर्ने कार्य भएको छ ।”

मुलुकमा स्थायी सरकार आएको, सङ्घीयता आएको र जनताले शान्तिको महसुस गरिरहेको बेला केही तत्वहरुले सरकारलाई विफल पार्न सरकारलाई घेराबन्दीमा राखेकोे मन्त्री जम्मकट्टेलको आरोप छ । उहाँले सरकारका राम्रा कामको सबैले खुलेर समर्थन गर्नुपर्ने र कमीकमजोरी भए सुधार्न सुझाव दिनुपर्ने तर्क राख्नुभयो ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरका अध्यक्ष मुनु सिग्देलले पेशागत हकहितमा जुट्न सबै कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले कर्मचारीलाई यो वा ऊभन्दा पनि क्षमताका आधारमा नेतृत्व चयन गर्न सुझाव दिनुभयो । रासस

प्रतिक्रिया