सरकार विधि र कानूनअनुसार चल्न सकेन : नेता केसी

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २६ कात्तिक :नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार विधि र कानूनअनुसार चल्न नसकेको आरोप लगाउनुभएको छ । नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको ११औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन समारोहमा उहाँले विधिको शासनबाट मुलुक अगाडि बढ्न नसकेको बताउनुभयो । “व्यक्तिबाट होइन विधिअनुसार मुलुक सञ्चालन हुनुपर्छ”, उहाँले भन्नुभयो ।

दुई तिहाइको जनमत पाएको वर्तमान सरकार दुई तिहाइको बलमा सबै संस्थालाई नियन्त्रण गर्ने दिशामा अगाडि बढेको छ, यसलाई रोक्न काङ्ग्रेस एकजुट भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो । नेता केसीले काङ्ग्रेसभित्र सुधारको खाँचो रहेको बताउँदै १४औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर अगाडि बढे मात्र आउँदो निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभयो ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्कीले सरकार ट्रेड युनियनलाई खारेज गर्ने दिशामा अगाडि बढ्न खोजेको बताउनुभयो । उहाँले काङ्ग्रेसले अगाडि बढाएको सामाजिक सुरक्षा कोषलाई वर्तमान सरकारले शुभारम्भ गरेर आफूले ल्याएको भन्दै प्रचारबाजी गरिरहेको छ भन्नुुभयो । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले गुणस्तरीय दूध उत्पादन गरेर उपभोक्ताको हकअधिकारलाई सुनिश्चित गर्ने दिशामा बोर्डले काम गरिरहेको उल्लेख गर्नुभयो ।

संस्थानले हाल देशभरका झण्डै पाँच लाख किसानबाट उत्पादित दूधलाई खरीद गरेर आम उपभोेक्तालाई बिक्री गर्दै आएको सङ्घका अध्यक्ष तेजनाथ ढकालले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने महाधिवेशनले सङ्घको नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

प्रतिक्रिया