सांसद भुसालद्वारा पाँचथर घटनाका दोषीलाई कारवाहीको माग

रिता घिसिंग

काठमाडौँ : प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दाेष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि आग्रह गर्नुभयो । पाँचथरमा सोमबार राति भएको सो घटनामा अपरिचित समूहले दुई परिवारका नौ जनाको हत्या गरेको थियो । सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीले सो घटनाका बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने बताउनुभयो ।

बिचौलियाको बिगबिगी
सांसद टेकबहादुर बस्नेतले सल्यानमा गत वैशाख २७ देखि यही जेठ ४ गतेसम्म लागेको वन डढेलोबाट तीन जनाको निधन भएको र ठूलो धनमालको क्षति भएको जानकारी दिँदै सो घटनामा निधन भएकाहरुको परिवारलाई राहत, घाइतेको उपचार र क्षतिपूर्ति भएकाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले एक महिनामा तरकारीको मूल्य दोब्बर भएको र बिचौलियाको बिगबिगी बढेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद देवप्रसाद गुरुङले पोखरामा नेपालसहित विभिन्न देशका सेना सम्मिलित सैनिक अभ्यास भइरहेको छ भन्दै यसले शक्ति राष्ट्रहरुको टकराव भइरहेको विश्व परिवेशमा कस्तो प्रभाव पर्छ भनी प्रश्न गर्नुभयो ।

सांसद नमिताकुमारी चौधरीले सर्लाहीमा आगो लगाएर महिलाको हत्या भएको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउँदै मृतकका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गर्नुभयो । सांसद नरमाया ढकालले स्थानीय तहमा कर्मचारीको कमीका कारण काम गर्न चुनौती देखिएको छ भन्दै त्यसको उचित व्यवस्था गर्न माग गर्नुभयो । सांसद नारदमुनि रानाले थारू समुदायमा बढी देखिएको सिकलसेल रोगको उपचारको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नारायणप्रसाद मरासिनीले स्याङ्जामा सिद्धार्थ राजमार्ग क्षेत्रमा केही जनताले लालपूर्जा धितो राखेर ऋण लिन नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नर्सका माग पूरा गर्न ध्यानाकर्षण
सांसद बालकृष्ण खाणले पेशागत हकहितको माग गर्दै आन्दोलनरत नर्स र अस्थायी शिक्षकको माग सुनुवाइ गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पार्वती डिसी चौधरीले पनि नर्सहरु पेशागत हकहितका लागि शान्तिपूर्ण आन्दोलनमा रहेको बेला प्रहरीबाट हस्तक्षेप भएको छ भन्दै नर्सका उचित मागको सुनुवाइ गर्न आग्रह गर्नुभयो ।

सांसद पदमनारायण चौधरीले स्थानीय सरकारका कामकारवाहीप्रति निगरानीको आवश्यकता आँैल्याउनुभयो । सांसद पार्वतीकुमारी विशुङ्खेले दैलेखमा असिना र हावाहुरीबाट कृषि क्षेत्रमा भएको क्षतिपूर्तिप्रति ध्यानाकर्षण गराउँदै किसानलाई उचित राहतको व्यवस्था गर्न माग गर्नुभयो । सांसद प्रमोद साहले सङ्घीयतानुसार बजेटको बाँडफाँट नभएको टिप्पणी गर्दै प्रदेशमा कर्मचारीको अभाव रहेको गुनासो गर्नुभयो । रासस

प्रतिक्रिया