साउदी अरेबियाबाट भागेर क्यानाडा पुगेकी मुस्लिम किशोरीले दिईन सनसनीपूर्ण बयान !

मनिषा थापा

एजेन्सी : १८ वर्षीया साउदी किशोरी रहफ मोहम्मद अल कुनुन आफ्नो देश फर्किन नमानेर होटलमै बन्द अवस्थामा बसिदिएपछि सारा विश्वको ध्यान उनीतर्फ खिचिएको हो ।

 

उनको ट्विटर अभियानको अनुसन्धान गरेपछि क्यानडा सरकारले उनलाई शरण दिएको हो । उनी साउदी अरेबियामा रहेको आफ्नो घर छोडेर भागेकी थिइन् ।

साउदी अरेबियामा महिला अधिकारको विषयमा बहस चर्किँदै गर्दा क्यानडा पुगेकी अर्की युवतीले आफ्नो कथा अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीलाई सुनाएकी छन् । २४ वर्षीया साल्वा आफ्नी १९ वर्षीया बहिनीसँग आठ महिनाअघि भागेकी थिइन् । उनीहरू क्यानडाको मोन्ट्रियल नगरमा बस्छन् ।

यस्तो छ उनको बयान

हामी करिब ६ वर्षअघिदेखि नै भाग्ने तयारीमा थियौँ । तर हामीसँग राहदानी वा राष्ट्रिय परिचयपत्र थिएन। मलाई ती कागजात बनाउन बुवाआमाको अनुमति चाहिन्थ्यो । (साउदी महिलाहरूलाई धेरै काम गर्न आफ्ना पुरुष आफन्तको अनुमति चाहिन्छ)

म विश्वविद्यालयमा पढ्दा मेरा अभिभावकले राष्ट्रिय परिचयपत्र बनाइदिएका थिए । त्यसैकारण म केही भाग्यमानी भएँ । दुई वर्षअघि अंग्रेजीको परीक्षाको लागि भनेर मेरो राहदानी पनि बनाइएको थियो। तर मेरो परिवारले त्यो खोसिदिए । पछि मैले फेरि त्यो हात पार्न सफल भएँ ।

मैलै मेरो दाजुको घर छिर्ने साँचो चोरेर बजारमा गएर अर्को नक्कली साँचो बनाएँ । मलाई घर बाहिर निस्कन उनीहरूको अनुमति थिएन । तर म उनीहरू सुतेको बेला भागेँ । त्यो निकै जोखिमपूर्ण काम थियो किनभने म समातिएकी भए उनीहरूले मलाई कुटपिट गर्ने थिए ।

मैले नक्कली साँचो बनाएपछि मेरो र बहिनीको राहदानी अनि बुवा सुतेको बेला उहाँको फोन लिन सफल भएँ । त्यसपछि मैले गृह मन्त्रालयको वेबसाइटमा गएर उहाँको नम्बरलाई मेरो नम्बरमा बदल्न सफल भएँ । त्यसपछि मैलै उहाँको एकाउन्टमा लग इन गरेर हामीलाई देश छोड्ने अनुमति पनि लिन सफल भएँ ।

हामी सबैजना सुतेको बेला रातिको समयमा घर छोड्न सफल भयौँ । त्यो एकदमै तनावपूर्ण क्षण थियो । हामीले कार चलाउन नसक्ने भएकोले एउटा ट्याक्सी बोलायौँ । भाग्यवश साउदी अरेबियाका सबैजसो ट्याक्सी चालक विदेशी हुने हुनाले हामीले एक्लै यात्रा गरेकोमा कसैले शंका गरेनन् । 

त्यसपछि हामी रियादको राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा गयौँ । हामीले के गर्दैछौँ भनेर यदि कसैले थाहा पाएको भए सम्भवतः हामी मारिने थियौँ । म विश्वविद्यालयमा पढ्दै गर्दाको पछिल्लो वर्ष म अस्पतालमा काम गर्दथेँ । त्यतिबेला मैले केही रकम जोगाएकी थिएँ । मैँले बेरोजगारी भत्ताबापतको रकम पनि जोगाएकी थिएँ । त्यो मलाई विमानको टिकट र जर्मनीको ट्रान्जिट भीसा किन्न पर्याप्त भयो ।

त्यसपछि म बहिनीसित जर्मनी जाने विमान चढ्न सफल भएँ । म पहिलोपटक विमान चढेकी थिएँ । मलाई साह्रै रमाइलो लाग्यो । म खुसी भएँ, तर डराएँ पनि । हामी घरमा नभएको थाहा पाएपछि बुवाले प्रहरीलाई फोन गर्नुभएछ । त्यो त्यतिबेला निकै ढिलो भइसकेको थियो ।</p>

प्रहरीले बुवालाई फोन गर्न लाग्दा फोन मकहाँ आइपुग्यो किनभने मैलै सरकारी वेबसाइटमा बुवाको नम्बर नै बदलिदिएको थिएँ । जब म विमानबाट ओर्लिएँ, प्रहरीले बुवालाई पठाएको सन्देश मेरो फोनमा आयो ।

साउदी अरेबियाको जिन्दगी के जिन्दगी । म विश्वविद्यालय जान्थेँ अनि घर जान्थेँ । दिनभर केही काम हुँदैनथ्यो । पुरुषहरूले मलाई चोट पु¥याउँदथे र भन्ने गर्दथे कि पुरुषहरू महिलाभन्दा ठूला हुन् । मलाई रमादान पर्वको बेला पनि प्रार्थना गर्न र केही नखाई व्रत बस्न बाध्य तुल्याउँदथे ।

जब म जर्मनी पुगेँ त्यसपछि म मलाई शरण लिन आवश्यक कानुनी सहयताको लागि एक कानुनी सहायता केन्द्र पुगेँ । मैले केही फारम भरेँ र त्यसपछि उनीहरूलाई मैले मेरो कथा सुनाएँ । मैले क्यानडा नै रोजेँ । किनभने क्यानडामा मानव अधिकारलाई सम्मान गरिन्छ ।

मैले सिरियाली शरणार्थीहरू क्यानडा आएको र यहाँ शरण पाएको बारेका समाचारहरू पढेकी थिएँ । त्यसैले मैले सोचेँ, क्यानडा नै म जानुपर्ने देश हो । मलाई शरण दिन क्यानडा राजी भयो । जब म टोरोन्टो विमानस्थल आइपुगेँ, मैले पर क्यानडाको झन्डा देखेँ । त्यतिबेला मलाई ठूलै कुरा प्राप्त भएको महसुस भयो । अहिले म मेरी बहिनीसँगै मोन्ट्रियल नगरमा छु । मलाई कुनै तनाव छैन । मलाई कसैले यो गर त्यो नगर भनेर दबाव दिँदैन ।

साउदी अरेबिया धनी होला, उनीहरूसँग धेरै रकम होला, तर मलाई यहाँ राम्रो लाग्छ । म आफ्नो कोठा चाहेको बेला छोड्न सक्छु । मलाई कसैको अनुमति चाहिन्न । म बाहिर जान सक्छु ।

मलाई यो कुराले एकदमै धेरै खुसी बनाउँछ । म स्वतन्त्र छु जस्तो लाग्छ । मलाई जे लगाउन मन लाग्छ म त्यो लगाउन सक्छु । मलाई यहाँको शरद ऋतुको रंग मन पर्दछ । मलाई यहाँको हिउँ पनि मन पर्छ । म फ्रान्सेली भाषा सिक्दैछु, त्यो एकदमै गाह्रो छ ।

म साइकल चढ्न, पौडी खेल्न र आइस स्केट खेल्न पनि सिक्दैछु । म जीवनमा केही गर्दैछु जस्तो लाग्दैछ । म मेरो परिवारसँग सम्पर्कमा छैन । त्यो मलाई राम्रो हो । त्यो उनीहरूका लागि राम्रो हो । मलाई अहिले यहीँ आफ्नो घर हो जस्तो लाग्दछ । मलाई यहाँ एकदमै राम्रो छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू