साउदी पत्रकार खसोग्गीको छोरा अमेरिकामा

admin

वासिङ्टन, ९ असोज : टर्कीस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका साउदी अरबका पत्रकार जमल खसोग्गीका जेठा छोरा सलाह विन जमल खशोग्गीमाथिको विदेश भ्रमण प्रतिवन्ध हटाएपछि उहाँ बिहीबार अमेरिका पुग्नुभएको छ । अमेरिकी सञ्चारमाध्यमले कुनै स्रोत नखुलाईकन दिएको समाचारमा सलाह विनले साउदी अरब छोडी अमेरिका आइपुगेको जनाएका हुन् ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनले शुक्रबार प्रशारण गरेको समाचारमा भनेको छ, अमेरिकी अनुरोधमा साउदी अरब सरकारले खशोग्गीका जेठा छोरा सलाह विनमाथिको प्रतिबन्ध हटाइएको थियो । लगत्तै उहाँ सिधा उडानमार्फत अमेरिकाका लागि छुट्नु भएको थियो । उहाँ अहिले अमेरिका पुगिसक्नुभएको छ । वासिङ्टन पोष्टका लागि काम गर्दै आएका जमाल खशोग्गीलाई इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासभित्रै गत अक्टोबर २ मा हत्या गरिएको थियो ।

घटनापछि खशोग्गी परिवारका केही सदस्यलाई विदेश भ्रमणमा साउदी अरबले प्रतिबन्ध लगाएको थियो । वासिङ्टन पोष्ट पत्रिकाका लागि काम गर्दै आएका मृतक खशोग्गीका जेठा छोरा सलाहलाई विदेश भ्रमणमाथि लगाइएको प्रतिबन्धलाई फुकुवा गर्न अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले एक हप्ता पहिले रियाद भ्रमणमा रहेका समय साउदी अरब सरकारसँग आग्रह गर्नुभएको जानकारी बिहीबार मात्रै सार्वजनिक भएको थियो । ह्वाइट हाउसका प्रवक्ता सारा सान्डर्सले भन्नुभयो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी गुप्तचर निकाय सीआइएका निर्देशक गिना हास्पेल अनुसन्धानका लागि टर्की भ्रमणबाट फर्केपछि घटना सम्बन्धमा औपचारिक जानकारी लिनुभएको जनाइएको छ ।

सान्डर्सले राष्ट्रपति ट्रम्पलाई खशोग्गीबारे आफुले पाएको जानकारी र अनुसन्धान प्रक्रियाबारेमा भएका छलफलहरूलाई जानकारी गराउनुभएको बताउनुभयो । यद्यपि छलफलबारे बिस्तृत विवरण भने दिइएको छैन । दुई हप्तासम्म रियादले खशोग्गीको हत्यालाई अस्वीकार गर्दै आएपनि गत शनिबार मात्र वासिङ्टन पोष्टका पत्रकार खशोग्गीको इस्तानबुलमा रहेको साउदी अरबको महाबाणिज्य दूतावासमा केही व्यक्तिसँगको झडपमा मृत्यु भएको स्वीकार गरेको थियो । तर विवाद किन भएको भन्नेबारे केही खुलाइएको छैन । साउदीका युवराजले बुधबार मात्रै खशोग्गीको हत्यारालाई कानूनी कठघरामा उभ्याइने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । अहिलेसम्म उक्त घटनामा सम्लग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
-रासस

प्रतिक्रिया