साझा बस जस्तै अत्याधुनिक रचना यातायातको सेवा सुरु, यस्ता छन् विशेषता (भिडियो)

मनिषा थापा

रचना यातायात प्रा. लि. ले विधिवत रुपमा नेपाल इन्जीनियरिङ कलेज देखि भुमिदेवल चौर, मुलपानी हुँदै चक्रपथ परिक्रमा सेवा शुभारम्भ गरेको छ। कम्पनीले कागेश्वारी मनोहरा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रकाश फुयालको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गरि १३ वटा बस सेवा शुभारम्भ गरेको हो।

रचना यातायात प्रा. लि.का अध्यक्ष टंकराज प्याकुरेलको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी लगायत सयौ स्थानीयको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख संचालक गणेश बाहादुर शाहीले स्थानीयको चाहनाअनुसार संचालनमा ल्याएको बस सेवाले यात्रुको मनोभाव, नागरिक समाजको भावनाअनुरूप सेवालाई निरन्तरता दिने बताउनुभयो। यात्रु र बस संचालक एक सिक्काको दुई पाटा भएको बताउदै उहाँले सेवा गर्दै जाँदा हुने कमीकमजोरीलाई सुधार्दै स्तरिय सेवाको साथै सेवा मात्र नभई यातायात सेवामा नमुना सेवाको अनुभूति दिलाउने समेत प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमका बिशेष अतिथि सिप्रदी ट्रेडिङ प्रा. लि. का बस बिभागका व्यवस्थापक श्रीकृष्ण चन्दले रचना यातायातलाई व्यवस्थित तरिकाले संचालन गर्न कम्पनीले सहयोग पुर्याउने बताउनुभयो। बिक्रेताको तर्फबाट बसमा हुने त्रुटी, बिग्रेको खण्डमा २४ घण्टा सुबिधा दिदै ‘व्याक-अप सपोर्ट’मा समेत कुनै कसर बाँकी नराख्ने बताउनुभयो।

हाल संचालनमा आएको बस सेवाबाट स्थानीयवासीले अपेक्षाअनुरुप सेवा लिन नपाएको भन्दै वडाधय्क्ष फुयाँलले स्थानीयको चाहनाअनुरुप सेवा प्रदान गर्न आग्रह गर्दै विकास निर्माणमा सार्वजनिक सवारीले महत्वपूर्ण भूमिका राख्ने बताउनुभयो। सिन्डिकेट अन्त्य भैसकेको भन्दै प्रतिस्पर्धाको बजारमा उत्रदै गर्दा चालक र सहचालक पनि सभ्य रुपमा प्रस्तुत भइ रचना यातायातले नमुना सेवा प्रदान गर्नेमा बिश्वस्त रहेको बताउनुभयो।

रचना यातायात प्रा. लि.का कम्पनि सचिव कमल कुमार खत्रीले विहान साढे ५ बजे सेवा शुरु भइ बेलुकी साढे ६ बजेसम्म सुचारु हुने जानकारी दिनुभयो। अबको १हप्ता भित्रै थप ७ वटा बस सेवा संचालन हुने र निकट भविष्यमा ५० वटा सम्म पुर्याउने बताउनुभयो।

कम्पनीको बस सेवा नेपाल इन्जीनियरिङ कलेज, भुमिदेवल चौर, मुलपानी, हरहर महादेव, पेप्सीकोला, काँडाघारी, कोटेश्वर, नयाँ बानेश्वर, अनामनगर, पुतलीसडक, जय नेपाल, नक्साल, भाटभटेनी, बालुवाटार, टिचिङ, धुम्बाराही, चावहिल, गौशाला, तिनकुने, कोटेश्वर हुँदै सोहि रुटमा फिर्ता हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू