सातै प्रदेशका सभामुखको भेला चितवनको सौराहामा

कृष्ण रोकाया

भरतपुर, २९ मङ्सिर : सातै प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु आज चितवनको सौराहामा भेला हुनु भएको छ । प्रदेश नं ३ प्रदेशसभाको आयोजनामा अन्तर प्रदेशस्तरीय अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । सो भेलाको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा सभामुख महराले सङ्घीयता असफल भए मुलुक असफल हुने धारणा राख्नुभयो । उहाँले सङ्घीयता बलियो बनाउन राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । सरकारलाई सफल बनाउन ऐन, नीति नियम निर्माणमा सहयोग गर्न महराले आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सबै प्रदेशमा आधुनिक किसिमको संसद् भवन निर्माण गर्नुपर्ने बताउनुभयो । भौतिक संरचना बनेपछि काम कारवाही प्रभावकारी हुने उहाँको भनाइ छ । सङ्घीय संसद् र प्रदेशसभाका अधिकारबारे आगामी हिउँदे अधिवेशनबाट छलफल हुने र त्यसपछि प्रदेशलाई कानून बनाउन सहज हुने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । प्रदेशमा भौतिक पूर्वाधार र कर्मचारी व्यवस्थापन मुख्य समस्या रहेको भन्दै त्यसलाई समाधान गरिने उहाँको भनाइ छ ।

प्रदेशसभाले गरेका काम र अनुभव आदानप्रदान गर्न भेला आयोजना गरिएको प्रदेश नं ३ का सभामुख सानुकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कानून निर्माणमा कसरी सहकार्य र समन्वय गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित हुने बताउनुभयो । छलफलबाट निस्केका निष्कर्षसहितको चितवन घोषणापत्र जारी गर्दै भेला आजै सकिनेछ । रासस

प्रतिक्रिया