साधु हत्या आरोपमा तीन किशोर पक्राउ

राष्ट्रिय समाचार समिति

डडेल्धुरा, २७ असोज: : असोज २२ गते बेलुका मृत फेला परेका डडेल्धुराको भत्काडाका एक साधुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन किशोरलाई पक्राउ गरेको छ। शनिबार १४ र १६ वर्ष उमेरका स्थानीय दुई किशोरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। सोही घटनामा संलग्न भनी आइतबार १४ वर्षीय अर्का स्थानीय किशोरलाई पनि पक्राउ गरिएको छ।

डडेल्धुराको अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका ७५ वर्षिय साधु उमाशंकर गिरीको शंकास्पद मृत्युको अनुसन्धानका लागि डडेल्धुरा प्रहरीले तीन किशोरलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। भागेर बैतडी र डडेल्धुराको सिमानामा लुकिछिपि बसेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायव निरीक्षक न्यौपानेले जानकारी दिए।

४०–४५ वर्ष अगाडिदेखि भजनेउटा कुटीमा बस्दै आएका साधु उमाशंकर गिरी बुधबार आफ्नै कुटीमा रक्ताम्य भएको अवस्थामा मृत फेला परेका थिए। उनलाई निर्मम तरिकाले कुटपिट गरिएको प्रहरीले जनाएको छ। बालबालिका ऐन २०७५ को दफा ११ बमोजिम पक्राउ परेकाहरूको नाम, थर खुलाइएको छैन। गिरीको शव भेटिएको स्थानमा ढुंगा र लठ्ठीमा रगत पनि भेटिएपछि उनको मृत्यु शंकास्पद बनेको हो।

प्रहरी नायव निरीक्षक दधिराम न्यौपानेले भने, ‘नियन्त्रणमा लिएका व्यक्ति असोज २१ गते घटनास्थल नजिकै कोटेलीमा रहेको पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्दै कुटीतिर आएको पुष्टि भएपछि पक्राउ गरिएको हो।’ प्रहरीले साधु बस्ने कुटीमा गई तीनै जना फर्कने क्रममा नजिकै सडकमा गिरीसँग भेट भएको र विवाद भएकोमा गिरीलाई १६ वर्षका किशोरले ढुंगा प्रहार गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाएको छ।

गिरी भागेर आफ्नो कुटीमा प्रवेश गरी लुकेको र पक्राउ परेकाहरूले लखेट्दै गई पुनः ढुंगा प्रहार गरी उनलाई शक्त घाइते बनाई सो स्थानबाट भागी आ–आफ्नो घर गएको प्रारम्भिक बयानबाट खुल्न आएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका किशोरहरूमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए।

मृतक गिरि शारीरिक रुपले अपांग थिए। उनका दुवै हातका औंला कुष्ठ रोगका कारण झरेका थिए। उनी २०२८ सालमा दैलखबाट उपचारका लागि डडेल्धुरा आएका बुढापाकाहरू बताउँछन्। डडेल्धुरामा हत्या गरिएका साधु उमाशंकर गिरि, हत्या गरेको स्थानमा भेटिएको रगत लतपटिएको लठ्ठी र गिरिले बस्ने कुटी। तस्बीरहरु ः धनबहादुर भण्डारी।

प्रतिक्रिया