सिन्धुकप फुटबलको उपाधि जावलाखेललाई

admin

मेलम्ची, २९ वैशाख : सिन्धुपाल्चोकको लामोसाँघुमा आज सम्पन्न चौथो संस्करणको सिन्धुकप फुटबल प्रतियोगिताको उपाधि जावलाखेल युथ क्लब काठमाडौँले हात पारेको छ । आज भएको फाइनल खेलमा ए डिभिजनको जावलाखेल युथ क्लबले गोर्खा ब्वाइज क्लब रुपन्देहीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

खेलको १८औँ मिनेटमा बोरिसले गोल गर्दै जावलाखेललाई शुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ६१औँ मिनेटमा बोरिसले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई च्याम्पियन बनाएका हुन् । खेलको ३६औँ मिनेटमा डाम्बियाले रातो कार्ड पाउँदा जावलाखेल १० खेलाडीमा समेटिएको थियो । जावलाखेलले उद्घाटन खेलमा काभ्रे बोर्डस् युथ क्लब र सेमिफाइनलमा आयोजक युथ स्पोर्टस् क्लबलाई हराएको थियो ।

गोर्खा ब्वाइज क्लब रुपन्देहीले भने दुवै खेलमा पेनाल्टीमा जित निकालेको थियो । पहिलो खेलमा फ्रेन्ड्सलाई पराजित गरेको गोर्खाले दोस्रो खेलमा एपिएफलाई हराएको थियो । सिन्धुकपको चौथो संस्करणसम्म आइपुग्दा आयोजक युथ स्पोर्टस् क्लब, सुनकोशी युथ क्लब र एपिएफले उपाधि उचालेका थिए ।

प्रतियोगिताको विजेता जावलाखेल युथ क्लबल ले रु पाँच लाख हात पारेको छ । यस्तै उपविजेता बनेको गोर्खा ब्वाइज क्लबले रु दुई लाख ५० हजारमा चित्त बुझाएको छ । प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।रासस

प्रतिक्रिया