सिन्धुपाल्चोक घटना झन् रहस्यमय बन्दै, ग्यास सिलिण्डर नभएर बम पडेको हुन सक्ने स्थानीयको आशंका (भिडियो)

मनिषा थापा

भक्तपुर : भोटेकोशी गाउँपालिकाको निर्माणधीन २२ मेगावाटको अपर चाकु जलविद्युत आयोजनामाभित्र सोमबार भएको विष्फोटनमा चार जना मजदुरको मृत्यु भएको थियो । उक्त ग्यास सिलिण्डर बिस्फोटनको घटना थप रहस्यमय बन्दै गएको छ । घटनास्थलमा ग्यास चुलो जस्ताको तस्तै भेटिएकाले यो घटनामा अन्य विस्फोटक पदार्थ पड्एिको हुन सक्ने स्थानीयबासिन्दाहरुको दाबी छ ।

सोमबार बेलुकी पौन ५ बजे ठूलो आवाज आएपछि आसपासका स्थानीयले शुरुङ भित्र बिस्फोटन भएको होला भन्ने अनुमान गरेका थिए । तर, पहिलेको भन्दा एकदमै ठूलो आवाज आएपछि स्थानीयवासीहरु आवाज आएको क्याम्पतर्फ गएका थिए । खाना पकाउने ग्यास विस्फोटन भएको भनिए पनि स्थानीयले यसलाई पत्याउन सकिरहेका छैनन् ।

घटनास्थलमा मजदूरको शवका टुक्रा मात्र भेटिनु र ग्यास सिलिण्डरको कुनै टुक्रा समेत नदेखिएको भन्दै अरु नै बिष्फोटक पदार्थ विष्फोटन भएको आशंका स्थानीयले गरेका छन् । मृतकमध्ये दुईजनाको टाउँकोभन्दा तलको भाग मात्रै फेला परेको छ भने दुई जनाको कपालमात्रै भेटिएकाले त्यही आधारमा आफन्तहरुले आफ्नो मान्छेको पहिचान गरेको स्थानीय बताउँछन् ।

शिवश्री हाइड्रो पावरद्वारा भोटेकोशी गाउँपालिकाको निर्माणधीन २२ मेगावाटको अपर चाकु जलविद्युत आयोजनामा आवश्यक पर्ने विस्फोटक पदार्थ सुरक्षाका लागि त्यहाँ नेपाली सेनाको क्याम्प र टोली बसेको थियो । तर भूकम्पपछि नेपाली सेना त्यहाँबाट छाडेर हिँडिसकेको हाइड्रो पावरमा कार्यरत शेर्पाले बताए।
सेनाले छाडेको त्यही क्याम्पमा जलविद्युत आयोजनामा कार्यरत मजदुरहरु बस्ने गरेका थिए ।

जलविद्युत आयोजनाका लागि आवश्यक विष्फोटक पदार्थ नेपाली सेनाले त्यहाँबाट उठाएर लगे पनि केही सामग्रीहरु त्यहीँ छुटेको हुन सक्ने स्थानीयको आशंका छ । पहिला पनि जलविद्युत आयोजनामा यस्तै घटना हुँदा आयोजनाले गुपचुप राख्ने गरेको थियो ।

मजदुर बस्ने क्याम्पको भान्सा कोठा भन्दा बाहिर ठूला खाडल हुनुले पनि स्थानीयले बाहिरै अन्य विस्फोट पदार्थनै विष्फोटन भएको दाबी गरेका छन् । ‘शवको टुक्रा भेटिएको छ, तर ग्यासको टुक्रा कतै पनि भेटिँदैन, त्यहाँ पुग्दा पनि बारुदजस्तै पदार्थ गन्हाएको थियो’ शेर्पाले भने ।

जलविद्युत आयोजनाको शुरुङभित्र अहिले फिनिसिङको काम भइरहेको थियो, दिउँसो र रात्रिकालीन गरेर त्यो क्याम्पमा २५ मजदुरहरु बस्ने गरेका थिए । बिस्फोट स्टोर कोठमा भएको छ । प्रहरी अनुसार, स्टोरमा एचपी कम्पनीका केही थान ग्याँस सिलिण्डरहरु अहिले पनि रहेको छ। भान्साकोठामा नभई स्टोरमा बिस्फोटन भएकाले पनि घटना झनै शंकास्पद रहेको स्थानीयले बताएका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू