सिरियामा दुई पक्षका लडाकूबीच भिडन्त, ३२ को मृत्यु

admin

कुर्दिस आवद्ध लडाकूमाथि आईएस लडाकूहरुले गरेको भीषण आक्रमणमा परी अमेरिकी सहयोगमा रहेका सिरियाली लडाकू समूहका ३२ जना लडाकूको ज्यान गएको बताइएको छ । सिरियन डेमोक्र्याटिक फोर्सेस (एनडीएफ) का ती ३२ जना लडाकू अमेरिकी सरकारको सहयोगमा सङ्घर्षरत् छन् । सिरियाली सैनिकका विरुद्धमा सङ्घर्ष जारी राखेका छन् र उनीहरुमाथि आईएसले कारबाही गर्ने गरेको छ ।

आइतबार सिरियाको युफारेट्स उपत्यकामा ती लडाकूका विरुद्ध आईएसले हमला थालेका थिए । त्यस क्रममा कट्टरपन्थी आईएसका पनि नौ जनाको ज्यान गएको बताइएको छ । सो उपत्यकामा कमजोर मौसमको फाइदा उठाउँदै जिहादीहरुले हमला गरेको समाचारमा जनाइएको छ । आइतबार अपराह्न भएको सो हमलाका क्रममा अरू पनि कैयौँ लडाकू घाइते भएको अधिकारीहरुले बताएका छन् ।

सिरियाली मानवाधिकारवादी संस्था सिरियन अब्जरभेटरीका प्रमुखले दिएको जानकारीअनुसार सो उपत्यकामा आइतबार अपराह्नबाट शुरु भएको हमला सोमबार बिहानसम्म जारी रहेको थियो । सोमबार बिहानसम्म ३२ जनाको शव भेटिएको र अरू कैयौँ घाइते भएका अधिकारीहरुले जनाएका छन् । उनीहरुले जहिले पनि जिहादीहरुले यस्तै खराब मौसमको समय पारेर हमला गर्ने गरेको बताएका छन् ।

सिरियामा कुर्दिस अरब गठबन्धनले करीब १७ हजार लडाकू तैनाथ गरिरहेका बताइएको छ । तिनीहरु प्रायः सबै सैनिक पृष्ठभूमिका मानिस रहेका र उनीहरुसँग पनि अत्याधुनिक हतियार रहेको छ । उनीहरु हालको सिरियाली सरकारका विरुद्धमा लड्ने गर्दछन् । ती लडाकूका विरुद्धमा आईएस जिहादीहरुले पनि खतरनाक रुपमा हमला गर्ने गरेका छन् ।

सो क्षेत्रमा गएको सेप्टेम्बर १० देखि ती लडाकूहरुलाई खटाइएको हो । त्यस यता उक्त क्षेत्रमा कम्तीमा पनि एक हजार ८० जना आईएस जिहादीको ज्यान गएको छ । साथै यस समयावधिमा उक्त क्षेत्रमा कुर्दिस लडाकूतर्फ पनि ठूलो क्षति भएको छ । उनीहरुका पनि ६०२ जना लडाकू मारिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

सिरियामा सन् २०११ मा यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । सो गृहयुद्धमा अल–कायदा र इस्लामिक स्ट्टेस् जस्ता आतङ्ककारी समूह हाबी हुँदै गयो । सन् २०११ देखि हालसम्म जारी यस युद्धमा परी ३ लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौँ व्यक्ति घाइते भएका छन् र लाखौँले आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।

प्रतिक्रिया