सिरियामा हवाई आक्रमण, १२ जनाको मृत्यु

शर्मिला गुरुङ

बेरुत, ९ जेठ (रासस÷एएफपी) – सिरियाको सरकारी फौजले इडलिब प्रान्तको एक बजारमा गरेको हवाई आक्रमणमा १२ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । उक्त हवाई आक्रमण रुसी सेनाले गरेको आशंका समेत गरिएको छ ।

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार रमादानको दिउँसोको उपबास सकिएर साँझपख मानिसहरु बजारमा भेला भएका बखत आक्रमण भएको थियो ।

यस्तै, मङ्गलबार राति विद्रोही लडाकूले नियन्त्रणमा लिइरहेको मारत अल–नुमान शहर आसपास गरिएको अर्को हवाई आक्रमणमा १८ जना घाइते भएको अब्जरभेटरीले जनाएको छ ।

बुधबार भएका पछिल्ला भिडन्तमा ५२ जनाको ज्यान गएको छ जसमा सरकारी फौजतर्फ २९ जना र विद्रोहीतर्फ २३ जना रहेका छन् ।

गत मे ८ मा सरकारी फौजले नियन्त्रणमा लिएका धेरैवटा शहरलाई पुनः विद्रोहीले कब्जामा लिएको अब्जरभेटरीले जनाएको छ ।

मुस्लिम जिहादीको प्रभुत्व रहेको इड्लिब क्षेत्रलाई रुस, सिरिया र टर्कीबीच गत वर्ष सेप्टेम्बरमा भएको सहमति बमोजिम मध्यवर्ती क्षेत्रका रुपमा लिइएको छ । तर पछिल्ला हप्ताहरुमा सिरियाली फौज र रुसी सेनाले बमबारी गरिरहेका छन् ।

इड्लिब प्रान्तको अधिकांश भूभाग हायात तहरिर अल–शाम समूहले कब्जामा लिएको छ । साथै यही समूहले छिमेकी अलेप्पो, हामा र लाटाकीयाका केही भूभागमा पनि कब्जा गरेको छ ।
अब्जरभेटरीले गत अप्रिल ३० यतामात्र १८० जनाभन्दा बढी नागरिकको मृत्यु भइसकेको जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला भिडन्तका कारण दशौं हजार मानिस आफ्ना घर छाडेर अन्यत्र भागेका छन् ।

प्रतिक्रिया