सी र आवेबीच भेटवार्ता

admin

बेइजिङ, ९ कात्तिक: चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका प्रधानमन्त्री शिन्जो आबेबीच शुक्रबार भेटवार्ता भएको छ । लामो समयपछि भएको आबेको चीन भ्रमण र उहाँहरुको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगतमा अर्थपूर्ण रुपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकका कतिपय वस्तुमा करवृद्धि गर्ने घोषणासँगै विश्व बजारमा तनाव उत्पन्न भइरहेको सन्दर्भमा दुई महाशक्ति राष्ट्रका नेताको भेटवार्तालाई महत्वका साथ हेरिएको हो ।

दुबै मुलुक पछिल्लो समय अमेरिकी व्यापारिक तनाबबाट गुज्रिरहेका छन् । अमेरिकी व्यापारिक तनाबलाई व्यवस्थापन गर्ने र जापान तथा चीनबीचको सम्बन्ध सुधार गर्ने, नयाँ आर्थिक साझेदारी निर्माण गर्नेलगायतका उद्देश्यसहित बिहीबार आबे चीनको बेइजिङ आइपुग्नुभएको हो । जापानका प्रधानमन्त्री आबेको यो चीन भ्रमण सन् २०११ यता पहिलो हो । दुबै मुलुकबीच दक्षिणी चीन सागरका केही द्वीपको स्वामित्व विवाद चुलिएसँगै सन् २०१२ देखि उच्चस्तरीय भ्रमण हुनसकेको थिएन ।

सन् २०१४ मा प्रधानमन्त्री आबे र चिनीया राष्ट्रपति पिङबीच एक शिखर बैठकका क्रममा भेटवार्ता भएपछि मात्र दुबै देशबीच मन्त्रीस्तरीय भ्रमण आदानप्रदान सुरु भएका थिए । सन् २०१२ मा जापानले केही द्वीपलाई आफ्नो स्वामित्वमा ल्याएको घोषणा गरेलगत्तै चीनमा जापान विरोधी घटना भएका थिए । तर पछिल्ला वर्षहरुमा दुबै मुलुकबीच सम्बन्ध सामान्यीकरण गर्ने निकै प्रयास भएका छन् ।

ती प्रयासहरुको परिणाम स्वरुप एशियाका सर्वाधिक ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीचको सम्बन्धमा पछिल्ला वर्षहरुमा सुधार आएको छ ।
जापानका प्रधानमन्त्री आबेको भ्रमणले दुबै मुलुकबीचको सम्बन्धमा सुधार ल्याउन एउटा परीक्षण गर्नेछ । दुबै मुलुकले आर्थिक सहयोगका क्षेत्रमा सुधार ल्याउने इच्छा देखाएका छन् ।

भ्रमणका क्रममा शुक्रबार चीन र जापानबीच दुई अर्ब ६० करोड अमेरिकी डलरको व्यापार सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पका कारण व्यापारिक चुनौती र तनाव उत्पन्न भइरहेको अवस्थामा दुवै मुलुकबीच यो पछिल्लो सम्झौता भएको हो । चीनका प्रधानमन्त्री ली खछ्याङसँगको द्विपक्षीय वार्तालगत्तै आयोजित पत्रकार सम्मेलनमा जापानका प्रधानमन्त्री आबेले यस क्षेत्रमा शान्ति र समृद्धिका लागि दुबै मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नेमा सहमति जनाएको बताउनुभयो ।

त्यस अवसरमा चिनियाँ प्रधानमन्त्री लीले “अहिले, अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर छ, र अनिश्चितता बढ्दै गएको छ” भन्दै मुलुकहरुबीचको पारस्परिक आर्थिक सहयोगले विश्वव्यापी खुला व्यापारको विकासमा मद्दत गर्ने बताउनुभयो । प्रधानमन्त्री आबेका साथ जापानी कम्पनीसँग आबद्ध झण्डै एक हजार प्रतिनिधि सहभागी छन् । प्रधानमन्त्री लीका अनुसार उक्त टोलीसँग दुई अर्ब ६० करोड डलर बराबरका ५०० वटा सम्झौता भएका छन् ।
-रासस÷एएफपी

प्रतिक्रिया