सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने

कृष्ण रोकाया

खार्तुम, ३ माघ (रासस/एएफपी) : सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै शुरु भएको प्रदर्शन एक महिना पुगिसकेको छ, तर राष्ट्रपति ओमार अल–बासिर राजीनामा नदिनेमा दृढ देखिनुभएको छ ।

प्रदर्शनका आयोजकहरुले राजधानी खार्तुमस्थित राष्ट्रपति कार्यालय अघिल्तिर विशाल प्रदर्शनमा सहभागी गराउन मानिसलाई गाउँगाउँबाट ल्याइरहेका छन् । सुडानका अरु शहरहरुमा पनि दिनहुँ प्रदर्शन भइरहेका छन् ।

मानव अधिकार समूह ह्यूमन राइट्स वाचले प्रदर्शनका क्रममा सुरक्षा फौजको कारबाहीमा बालबालिका समेत ४० जनाभन्दा बढीको मृत्यु भइसकेको जनाएको छ ।

राष्ट्रपति बासिर सन् १९८९ देखि सुडानको राष्ट्रपतिमा हुनुहुन्छ । सुडान विज्ञहरुका अनुसार यसपटक राष्ट्रपति बासिरमाथि सबैभन्दा ठूलो चुनौती खडा भएको छ ।

खार्तुम प्रदर्शनमा सहभागी २८ वर्षीय अदेल इब्राहिमले वर्तमान सत्ता परिवर्तन नहुँदासम्म प्रदर्शनमा सहभागी भइरहने बताउनुभयो । “हामीहरु हाम्रो भविष्य र हाम्रो राष्ट्रको भविष्य सुरक्षित राख्न प्रदर्शन गरिरहेका छौं ।”

सरकार विरोधी प्रदर्शन शुरुमा आटबारा सहरबाट थालनी भएको थियो । सुडानको पूर्वी भेगमा रहेको यो शहर सरकार विरोधीका रुपमा पहिल्यैदेखि परिचित छ । केही दिनभित्रै यो प्रदर्शन अरु प्रान्त र राजधानी खार्तुममा शुरु भएको थियो ।

परम्परागत रुपमा राष्ट्रपति बासिरको पकड क्षेत्रका रुपमा रहेका पोर्ट सुडान, गादारेफ, कासाला समेतका शहर तथा गाउँबस्तीहरु पनि यसपटक बासिरको राजीनामाको पक्षमा उभिएका छन् । पश्चिमी डार्फर क्षेत्रमा पनि बासिर विरुद्ध प्रदर्शन हुन थालेका छन् ।

मानिसहरुलाई प्रदर्शनमा सहभागी गराउन सामाजिक संजालको निकै बढी प्रयोग हुन थालेको छ । मानिसहरुले “शान्ति, स्वतन्त्रता, न्याय” को पक्षमा गरेका नाराबाजीलाई सामाजिक संजालमा लगातार समावेश गर्ने गरिएको छ ।

आमजनताको स्वःस्फूर्त सहभागिताप्रति अधिकारीहरु समेत आश्चर्यचकित भएको पाइएको छ ।

सुडानको अर्थतन्त्र कमजोर हुनुमा संयुक्तराज्य अमेरिकाको प्रमुख भूमिका रहेको अधिकारीहरुको भनाइ छ । अमेरिकाले सन् १९९७ मा सुडानविरुद्ध व्यापार प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध सन् २०१७ को अक्टोबरमा मात्र फुकुवा गरिएको छ । अमेरिकी प्रतिबन्धका कारण सुडानले अन्तर्राष्ट्रिय व्यापारिक कारोबार गर्न पाएको थिएन ।

बासिरले सोमबार डार्फरमा आयोजित एक सभामा सम्बोधन गर्दै प्रदर्शनकै कारण सरकार परिवर्तन हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सत्तामा परिवर्तन मतदानबाट मात्र हुन्छ । सुडानी जनताले सन् २०२० मा हुने चुनावमा यसको निर्णय गर्नेछन् ।” राष्ट्रपति बासिर पनि उक्त चुनावमा तेस्रो पटक उठ्ने तयारीमा हुनुहुन्छ ।

प्रतिक्रिया