सुन्तलाको मुख्य क्षेत्र घोषणा गरिएका स्थानमै बोट सुकेपछि…..

शर्मिला गुरुङ

सल्यान, २९ पुस : जिल्लाकै सुन्तलाको मुख्य क्षेत्र घोषणा गरिएका स्थानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन् । व्यावसायिक रुपमै सुन्तला खेति गरिरहेका वागचौर नगरपालिका–८ कोटमौलामा सुन्तला बगैचामा बोट सुक्न थालेपछि किसान चिन्तित भएका हुन् । सुन्तलाका बोट र फलमा धमाधम ढुसिको संक्रमण फैलिएर किसान समस्यामा परेका छन् ।

सुन्तलामा बोक्रा कुहिने देखि रुख सुक्ने समस्या देखिएको सुन्तला उत्पादक अङ्गेश्वर डाँगीले बताउनुभयोे । सोकोे नियन्त्रणमा सरोकारवालाको ध्यान पुग्न नसकेमा झन समस्या आउने उहाँले जानकारी गराउनुभयो ।

सुन्तलामा क्याङकर भाइरसका कारण रुखमै बोक्रा कुहिने समस्या देखिएको नगरपालिकाका कृषि शाखा प्रमुख हनुमान प्रसाद यादवले बताउनुभयो । सिक्टासिला भाइरसका कारणले ग्रिनिङ्ग रोगको समस्या देखिएको हुन सक्ने उहाँले जानकारी दिनुभयो । सुन्तलाका बोटमा पात पहेँलो हुदै जाने, प्रत्येक वर्ष फल सानो हुँदै जाने तथा फलमा स्वाद हराउदै जाने समस्या देखिएको बताइएको छ ।

सुन्तलामा रोगकिराको समस्या बढ्दै गएपछि न्युनिकरणका लागि पहल शुरु गरिएको नगर प्रमुख लोकमान वुढाथोकीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले यसका जानकारसँग सम्पर्क गर्दा रोग लागेको रुख र फलको नमुना २४ घण्टा भित्र काठमाडौँ प्रयोगशालामा पुग्ने गरि पठाउनुपर्ने रहेछ ।”
ल्याव टेष्टबाट प्राप्त रिर्पोटका आधारमा आगामी दिनमा रोग नियन्त्रणका लागी ठोस योजना ल्याइने उहाँले बताउनुभयो । एक वर्षमा एउट किसानका १० देखि २० वटा सम्म सुन्तलाका बोट तथा हाँगा सुक्न थालेका छन् । सुन्तला उत्पादक किसान भरतनाथ योगीले कोटमौलामा मात्रै पाँच सयदेखि एक हजारको हाराहारीमा बोटमा रोग फैलने गरेको छ ।
आत्मनिर्भर प्रदेश बनाउन प्रतिबद्ध

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेशलाई आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेको वताउनुभएको छ ।
नेपाल पत्रकार महासंघको आयोजनामा आज सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले प्रदेशको बेरोजगारी घटाउन लगानीमा आधारित प्रोत्साहन अनुदान वितरण, गरिव लक्षित हातेमालो कार्यक्रम, कृषि उत्पादन नायक नायिकालगायत कार्यक्रम ल्याइएको बताउनुभयो । रासस

प्रतिक्रिया