सोना शक्ति चामल अखाद्य नभएको पुष्टि

राष्ट्रिय समाचार समिति

गोरखा, ४ भदौ : अखाद्य वस्तु मिसिएकोे आशङ्कामा गोरखामा बिक्रीका लागि रोक लगाइएको सोना शक्ति चामल गुणस्तरयुक्त भएको पाइएको छ । गत साउन २० गते गोरखा नगरपालिका–नयाँ बजारस्थित जनमुखी उपभोक्ता सहकारी संस्थाले बिक्री गर्दै आएको रिपुराज एग्रो प्रालिद्वारा उत्पादित सोना शक्ति चामलमा अखाद्य मिसिएको आशङ्कामा जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि बिक्री गर्न रोक लगाएको थियो ।



खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग कार्यालय भैरहवा रुपन्देहीले परीक्षणका क्रममा उक्त चामलमा कुनै अखाद्य वस्तु मिसिएको र खानका लागि गुणस्तरयुक्त भएको प्रतिवेदन दिएको हो । नमूना परीक्षणका क्रममा नेपाल सरकारले तोकेको गुणस्तरअनुरुप सोना शक्ति चामल रहेको पाइएकाले आजदेखि चामल बिक्री गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति समेत दिएको छ ।

खाना पकाएर डल्ला पारी उर्फादा रबर जस्तै उफ्रिएको भन्दै उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले उक्त चामल तत्कालका लागि बिक्री गर्न रोक लगाउँदै गुणस्तर परीक्षणका लागि दमौली पठाएको थियोे । दमौलीबाट पनि परीक्षणका लागि भैरहवा पठाइएको चामलको नमूना परीक्षणका क्रममा कुनै अखाद्य वस्तु नमिसिएको र सरकारले तोकेको मापदण्डअनुसार नै रहेको प्रतिवेदन पठाएको जिल्ला प्रशासन कार्यालय गोरखाका सूचना अधिकारी गौतम भण्डारीले जानकारी दिनुभयो ।

जिल्लामा चामल बिक्री गर्दै आएको जनमुखी उपभोक्ता सहकारी संस्थाले गुणस्तर परीक्षणका क्रममा सरकारले तोकेको गुणस्तरअनुसार रहेको पाइएकाले प्रशासनको अनुमतिअनुसार बिक्री गर्न शुरु गरेको अध्यक्ष कपिल कट्टेलले जानकारी दिनुभयो । आज बिहान पत्रकार सम्मेलनको आयोजना गरी संस्थाले उपभोक्ताको स्वास्थ्यमा असर पर्ने कुनै पनि वस्तु सहकारीबाट बिक्री गर्ने भन्दै खाद्यवस्तु गुणस्तरयुक्त हुनुपर्नेमा सधैँ सचेत रहेको बताउनुभयो । सो अवसरमा रिपुराज एग्रो प्रालिका निर्देशक रिपु रमनले कम्पनीले अन्तरराष्ट्रिय गुणस्तरअनुसार नै चामल उत्पादन र बिक्री गर्दै आएको दाबी गर्नुुभयो ।

प्रतिक्रिया