सोनिया र प्रियंकाद्वारा दिल्लीमा मतदान

शर्मिला गुरुङ

नयाँ दिल्ली, २९ वैशाख (रासस÷एएनआई) : भारतीय राष्ट्रिय काँग्रेसका प्रभावशाली नेतृद्वय सोनिया गान्धी र प्रियंका गान्धीले आइतबार दिल्लीमा मतदान गर्नुभएको छ ।

भारतमा भइरहेको लोकसभा निर्वाचन अन्तर्गतको छैठौँ चरणको मतदानका दिन उहाँहरुले मतदान गर्नुभएको हो ।

आमा सोनिया र छोरी प्रियंकासँगै प्रियंकाका श्रीमान् रोबर्ट वद्राले पनि मतदान गर्नु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

काँग्रेस महासचिव समेत रहनु भएकी प्रियंकाले लोकतन्त्र बचाउने पक्षमा आफुले मतदान गरेको प्रतिक्रिया दिनुभयो ।

आइतबार उत्तर प्रदेशका १४, हरियाणाका दश, मध्यप्रदेश, बिहार र पश्चिम बंगालका आठ–आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान भएको छ ।

भारतमा गत अप्रिल ११ देखि यस पटकको लोकसभा निर्वाचन भइरहेको छ । सात चरणमा हुने केन्द्रीय निर्वाचनको अन्तिम चरण यही मे १९ मा सम्पन्न हुनेछ । यसअघि अप्रिल १८ मा दोस्रो चरणको, अप्रिल २३ मा तेस्रो चरणको, अप्रिल २९ मा चौथो चरणको र यही मे ६ तारिखका दिन पाँचौँ चरणको निर्वाचन भएको छ।

आगामी मे १९ तारिखका सातौं तथा अन्तिम चरणको निर्वाचन भएको चार दिनपछि अर्थात आगामी मे २३ मा मतगणना हुनेछ ।

प्रतिक्रिया