स्वच्छ वातावरण छैन पशुपति वृद्धाश्रममा

admin

काठमाडौँ, २६ असोज : सहज जीवनयापनको आशामा पशुपतिस्थित वृद्धाश्रमको आश्रयमा पुगेका वृद्धवृद्धाले दुई छाक खान त पाएका छन् तर स्वच्छ वातावरण पाएका छैनन् ।

स्वच्छ वातावरण र खानेपानी मानिसको नैसर्गिक अधिकार हो तर, वृद्धाश्रमको वातावरण र खानेपानी स्वस्थकर छैन । यस वृद्धाश्रमको प्रवेशद्वारमै पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित सार्वजनिक शौचालय रहेको छ । शौचालयको सफाइमा ध्यान दिएको देखिँदैन । शौचालय कै कारण वातावरण प्रदूषित मात्रै बनेको छैन, यहाँ बस्ने वृद्धवृद्धाको स्वास्थ्यमा समेत त्यसले प्रतिकूल असर पारिरहेको छ ।

यस वृद्धाश्रममा खानेपानीको पनि अभाव रहेको छ । स्वच्छ पानी पिउन पनि उनीहरुले पाएका छैनन् । विकास निर्माणका नाम खन्ने र भत्काउने काम हुँदा खानेपानीको व्यवस्था बिथोलिएको छ । । त्यसको पुनःनिर्माण गरिएको छैन ।
भूकम्पपछि यहाँका भवनहरु अस्तव्यस्त छन् । यहाँ रहेका भवनहरु जीर्ण छन् र बस्न योग्य छैनन् । भवनको कमीका कारण सयौं वृद्धवृद्धा कोचिएर बस्नुपर्छ । हाल यहाँ १६० वृद्धवृद्धा छन् । पुरुष ६५ र महिला ९५ जना छन् । तिनीहरुमध्ये ३५ जना अशक्त छन् ।

आश्रममा रहेका करीब ४० प्रतिशतले मात्रै वृद्धभत्ता पाउने गरेका छन् भने बाँकीले पाएका छैनन् । नागरिकता प्रमाणपत्र नभएका कारण उनीहरुले वृद्धभत्ता नपाएका हुन् । नागरिकता प्रमाणपत्रको व्यवस्था गरिदिन उनीहरुले आग्रह गरेका छन् । नागरिकता प्रमाणपत्र नभएकै कारण उक्त वृद्धाश्रमका वृद्धवृद्धा सरकारले व्यवस्था गरेको एकल भत्ता, अपाङ्ग भत्ता लगायतका सेवा सुविधाबाट वञ्चित छन् ।

देशभित्र र बाहिरका दाताहरुको सहयोगमा सञ्चालन भइआएको यो देशकै सबैभन्दा पुरानो वृद्धाश्रम हो र यसको सञ्चालन नेपाल सरकारले गर्दैआएको छ ।
यहाँ खानाका लागि दैनिक करीब रु ३३ हजार खर्च लाग्छ । त्यसको व्यवस्थापन दाताले गर्ने गरेका छन् । खानाका लागि नेपाल सरकारले वार्षिक रु एक करोड विनियोजन गरे पनि उक्त रकम फ्रिज हुने गरेको छ । दाताले दिएको बजेटले खानाको व्यवस्थापन हुने गरेको वृद्धाश्रमका कार्यालय सचिव मनोज बस्नेतले जानकारी दिनुभयो । सचिव बस्नेतले भन्नुभयो – “खानाका लागि दैनिक ३३ हजार रुपैंयाँ आवश्यक पर्छ । दाताबाट प्राप्त हुने सहयोगले नै पुग्छ । धेरै वृद्धवृद्धालाई आँखामा समस्या हुने गरेको छ । हामीले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरी उपचार गराउने गरेका छौँ ।”

स्वास्थ्य परीक्षणका लागि हप्तामा तीन दिन डाक्टरको सहयोग लिने गरिएको छ । संस्थामा वृद्धवृद्धाको उपचारार्थ एक सरकारी स्वास्थ्य परिचारिका छन् भने एक गैरसरकारी परिचारिका छन् । आश्रममा जीर्ण भवन नै मुख्य समस्याको रुपमा रहेको सचिव बस्नेतले बताउनुभयो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले आश्रमको प्रवेश द्वारमा रहेको सर्वाजनिक शौचालय एक हप्ताभित्र सफा गरी बन्द गर्ने र आधुनिक शौचालय निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पशुपति क्षेत्रमा रहेको वृद्धाश्रमसँगै रहेको सार्वजनिक शौचालय तथा खानेपानीको समस्या एक हप्ताभित्र समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार यहाँ वृद्धमैत्री खुला ठाउँ र भवन निर्माण गरिनुपर्छ । वीरेन्द्र चम्लागाई, रासस

प्रतिक्रिया