स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

कृष्ण रोकाया

नेपालगञ्ज, ४ भदौ : बाँकेको डुडुवा गाउँपालिकास्थित स्वास्थ्यचौकीमा अहिले सेवाग्राहीको चाप थामिनसक्नु भएको छ । दुई वर्षअघिसम्म वर्षमा नौ हजार बिरामी आउने सो स्वास्थ्य केन्द्रमा प्रयोगशालासहितको उपचार सेवा निःशुल्क भएपछि वार्षिक २४ हजार बिरामी उपचारका लागि आउने गरेका छन् ।

स्थानीय तह गठनपछि सो गाउँपालिकाले आफ्नो मातहतको स्वास्थ्यचौकीमा २०७४ फागुनदेखि निःशुल्क प्रयोगशालासहितको उपचार सेवा उपलब्ध गराउँदै आएकाले सेवाग्राहीको चाप बढेको जनाइएको छ । स्वास्थ्यचौकीका प्रमुख हेमन्त शर्माका अनुसार निःशुल्क प्रयोगशाला सञ्चालन भएसँगै स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या झण्डै तीन गुणाले बढेकाले बिरामीको उपचारका लागि छ स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले यस स्वास्थ्यचौकीका लागि छिट्टै एक चिकित्सक पनि थपिने बताउनुभयो ।

उक्त स्वास्थ्यचौकीले निःशुल्क प्रयोगशाला र उपचार सेवा सञ्चालन गरेपछि गाउँपालिका तथा आसपासका नागरिकलाई अब सामान्य स्वास्थ्य उपचारका लागि पनि सदरमुकाम नेपालगञ्ज धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।रासस

प्रतिक्रिया