हत्या आरोपमा चार युवा पक्राउ

admin

खस्यौली, ९ जेठ: रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० स्थित सितलापुर जङ्गलमा एक युवकको हत्याको आरोपमा चार युवा पक्राउ परेका छन् । उनीहरुलाई दुई दिनको अवधिमा आफ्नै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, बुटवलले जानकारी दिएको छ ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं ६ बस्ने २७ वर्षीय चिरञ्जीवी आचार्यको गएको सोमबार ढुङ्गाले हानेर विभत्स हत्या भएको थियो । पक्राउ परेका सबै कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं ६ निवासी हुन् । पक्राउपर्नेमा ३३ वर्षीया रमेश विक, २८ वर्षीय गोपाल खनाल, २४ वर्षीय वसन्त खत्री र २० वर्षीय राजु विक छन् । पक्राउ परेकामध्ये रमेश हत्याको मुख्य योजनाकार रहेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार हत्यापछि आचार्यलाई उनकै मोटरसाइकलमा ल्याएर जङ्गलमा फ्याँकिएको थियो । मादक पदार्थ सेवन गरी झगडा गरेका उनीहरुले आचार्यसँग भएको रु १३ हजारको लोभमा हत्या गरेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो । हत्या गरेर जङ्गलमा फ्याँकिएका आचार्यको सनाखत हुन पनि धेरै समय लागेको थियो । पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ ।रासस

प्रतिक्रिया