हराउँदै होलीको रौनक

admin

बर्दिवास, ५ चैत : रङ, अबिर र उमङ्गको पर्व होली (फागु) मुखमै आए पनि महोत्तरीसहितका मिथिला क्षेत्रमा रौनक हराउँदै गएको छ । पर्वको मुख्य आकर्षण जोगिरा गीत बज्न छाडेपछि यहाँ होली आए नआएको पत्तै पाइन छाडेको यहाँका बुढापाकाले बताउनुभएको छ ।  श्रीपञ्चमीदेखि नै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागुविशेष गीत) अब यहाँ सुन्न छाडिएको छ । वसन्त उत्सव मनाइएसँगै मृदङ्ग, हारमोनियम र डम्फु (जोगिराका वाद्यवादन) का तालमा प्रत्येक रात मिथिलाका बस्तीबस्तीमा गाइने जोगिरा हराउँदै गएपछि पर्वको मौलिकता हराएको बुढापाकाको भनाइ छ । 

श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गवैया (गायक)का समूहले गाउने गीतले दिने होली पर्वको सन्देश अब सुन्न छाडिएपछि पर्व आएको पत्तै पाइन छाडिएको महोत्तरीको भङ्गाहा–४ का पुराना जोगिरा गवैया ७५ वर्षीय रामनन्दन महतोले बताउनुभयो । “एक जमाना थियो, हामी जोगिरा गाउन थालेपछि डेढ महीनासम्म पूरै बस्ती उमङ्गमा हुन्थ्यो”, उहाँले भन्नुभयो, “अब जोगिरा सुन्न मन व्यग्र हुन्छ ।” 

 

“फागु पर्व त आइनै सक्यो, तर पर्व आएको भान नै पर्दैन”, बर्दिवास नगरपालिका–९ पशुपतिनगरका ८० वर्षीय नथुनी महतोले दुःखेसो पोख्नुभयो । पुराना जोगिरा गवैया धेरैजसोको मृत्यु भएको र कतिपय बुढ्याँइले घरको कुनामा थन्किएसँगै नयाँ पुस्ताले यो संस्कृतिबारे चासो नदिएपछि लोपकै अवस्थामा पुगेको ७० वर्षीय बालेश्वर ठाकुरले बताउनुभयो । 

 

‘किनका के हाथ में कनक पिचकारी, किनका के हाथ में अबिर झोरी ? रामजी के हाथ में कनक पिचकारी, सीयाजी के हाथ में अबिर झोरी…!! जोगिरा..सररर..!!’ अर्थात् कसको हातमा सुनौला पिचकारी र कसको हातमा अबिरको झोलि छ ?) भन्ने प्रश्नमा ‘रामजीके हातमें कनक पिचकारी..सीयाजी हातमें अबिर झोरी..हो खेलैय होली’ (श्रीरामका हातमा सुनौलो पिचकारी र सीताजीको हातमा अबिर झोली..खेलौँ है होली) गवैया समूहले सवालजवाफ शैलीमा गाइने जोगिराका यी स्वर सुन्न छाडिएपछि पर्वको रौनक हराएको पाका मैथिल (मिथिलाका बासिन्दा) बताउनुहुन्छ । 

 

तिथिमिति सम्झना नराख्नेका लागि पनि होली आउन लागेछ भन्ने सन्देश दिने मृदङ्ग, हारमोनियम र डम्पूmका तालमा सुनिने जोगिरा लोप भएको आँखाभरि हेरिरहँदा मन अड्याउन सकस पर्ने गरेको गौशाला नगरपालिका–१२ का लक्ष्मी महतोले बताउनुभयो । होलीमा हास–परिहास, ठट्टा गरिनेबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र उसको संयुक्त प्रतिबिम्ब हुने जोगिरा..सुन्न छाडिएपछि यो पर्व आउँदै गरेको छनक नै हुन छाडेको नेपाली काङ्ग्रेस भङ्गाहाका नगर सभापति ७० वर्षीय रुपनारायण सिंह थारूले बताउनुभयो । 

 

संस्कृतिको सम्झना मात्र नभई त्यो प्रतिको समर्पणभाव, भक्तिका लय मात्र नभई रतिराग, दुःख र जीवनका तीता अतीत बिर्साउने रउस र अबिर एवं रङ्गको महिमा एकसाथ सुन्न पाइने जोगिरा लोप हुँदै गएपछि होलीको रौनक पनि घटेको यहाँका पाका मैथिलको भनाइ छ । 

 

गवैयाले ठट्टा भावका जोगिराका यी हरफ गाउँदा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना जोगिरा गवैयाले बताउनुभयो । 

 

जोगिरा गीतमार्फत हुने ठट्टाले दिने मनोरञ्जन र कोठाभित्र लुकेर बसेकी नवयौवनालाई शृङ्गारिक गीतका भावले आउँदो होरीमा फागु खेल्न आउने चुनौतीपूर्ण निम्ता दिने यस्ता स्वर सुनिन छाडेपछि आफ्नै ठाउँ बिरानोजस्तो लाग्ने गरेको एकडारा गाउँपालिका भटौलियाका विजयकुमार कर्ण बताउनुहुन्छ । सामाजिक छुवाछूत, उचोनीचो जात र भिन्नभिन्न धर्मसंस्कृतिप्रति परहेज गर्नेहरु पनि एक अर्कोलाई अङ्कमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । 

 

जोगिरामा कामोत्सव भाव, वीर रस, आफ्नो परम्परागत संस्कृतिप्रतिको गौरवबोध, अध्यात्मिक पक्ष र धार्मिक परम्पराप्रतिको समर्पण, माया प्रेम, ऊर्जा संस्कृतिको प्रचुरता, परम्पराको निरन्तरता र उमङ्गको भाव एकसाथ भेट्टाइने पूर्वउपसचिव ७८ वर्षीय कृष्णचन्द्र झाले बताउनुभयो । आउने दिनमा मैथिल युवाले यहाँको मौलिक संस्कृति जगेर्नामा ध्यान दिन सके मात्र मिथिला संस्कृति र सभ्यताको पहिचान संरक्षण हुनसक्ने शिक्षण पेशाबाट अवकाश लिनुभएका भङ्गाहा–७ मेघना थगोरहन्नाका ६२ वर्षीय चन्द्रनारायण चौधरी (थारू)को नयाँ पुस्तालाई सुझाव छ । 

 

मिथिलामा श्रीपञ्चमीसँगै जोगिरा शुरु हुने र मिथिला माध्यमिकी परिक्रमाको आठौँ दिन महोत्तरीकै कञ्चनवन (भङ्गाहा–९) मा रामसीताले अबिर खेलेको सम्झनामा यात्रीले रामजानकीलाई अबिर अर्पित गरी प्रसादस्वरुप एकअर्कालाई लगाई दिएपछि रङ्ग अबिरको फागु पर्व विधिवत् शुरु भएको मानिने परम्परा रहँदै आएको छ । पहाड र भित्री मधेशमा बुधबार र मिथिला क्षेत्रमा बिहीबार फागु पर्व मनाइँदैछ । 

-रासस

प्रतिक्रिया