हलेशी टोलमा आगलागी, आगजनी गर्ने छ पक्राउ

राष्ट्रिय समाचार समिति

सप्तरी, २९ असोज: सप्तरीको सप्तकोशी नगरपालिका–१ हलेशी टोलमा गएराति आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । डिल्लीबहादुर बस्नेतको काठको दुईतले घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात र नगद रु १० हजार गरी रु पाँच लाख मूल्य बराबरको क्षति भएको पीडितले बताउनुभयो ।

फाइल तस्बिर

आगो निभाउने क्रममा घरधनी बस्नेतको अनुहार, हातखुट्टासमेत जलेको छ । उहाँको फत्तेपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

आगजनी गर्ने छ पक्राउ
अटोरिक्सा आगजनी गरी नष्ट गर्ने सप्तरीको कञ्चनरुप नगरपालिका–८ का २६ वर्षीय सोनु मण्डलसहित उनका पाँच साथीलाई सप्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–८ स्थित खत्वेटोल बस्ने बलराम खत्वेको स१ह ३२३४ नंको अटोरिक्सा आगजनी गरेको आरोपमा मण्डलसहित सोही ठाउँका ३२ वर्षीय महनारायण खङ्ग, २३ वर्षीय जयप्रकाश चौधरी, २२ वर्षीय सागर चौधरी, १८ वर्षीय सन्तोष चौधरी र सोही उमेरका रमेश खङ्गलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

आगजनी गर्नेमा आठ जना संलग्न रहेको जानकारी दिनुहुँदै इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले दुई जनाको खोजी भइरहेको बताउनुभयो । आरोपितहरुविरुद्ध आपराधिक उपद्रवको उजुरी दर्ता गरी कारवाही गरिने उहाँले बताउनुभयो ।

महानवमीका दिन गाउँमै लागेको दुर्गा भवानी मेलामा अटोरिक्साले सामान्य धक्का लागेको विषयमा आरोपित मण्डल र अटोरिक्सा चालकबीच विवाद भएको थियो । सोही झगडाको रिसइबीले दुई दिनपछि घर अगाडि पार्किङ गरी राखेको अटोरिक्सा आरोपितहरुले बाँसको झाङमा लगी आगजनी गरेको अनुसन्धानबाट खुलेको प्रनाउ मिश्रले बताउनुभयो । रु चार लाख ऋण कर्जा लिई खरीद गरी सञ्चालन गरेको अटोरिक्सा आगजनी भएपछि खत्वेलाई हातमुख जोर्न धौधौ परेको छ ।

प्रतिक्रिया