हलेसीमा ‘बोलबम’ मेला

राष्ट्रिय समाचार समिति

खोटाङ, ६ साउन : धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा दर्शनार्थीको घुइँचो लागेको छ । साउनभरी लाग्ने ‘बोलबम’ मेलाको पहिलो दिन आज बिहानैदेखि दर्शनार्थीले हलेसीमा लामबद्ध भएर पूजाआजा गरेका थिए ।

हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलका अनुसार लगातारको वर्षाका बाबजूद पनि हलेसीमा दर्शनार्थीको बाक्लो उपस्थिति रहेको थियो । हलेसीमा नेपालका साथै भारतबाट समेत दर्शनार्थी दर्शन गर्न आएका छन् । साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएको जल दर्शनार्थीले चढाउने गरेका छन् । उनीहरुले व्रत बसी भगवान् महादेव, पार्वती र गणेशलाई जल चढाउने गर्छन् ।

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थलका रुपमा चिनिएको हलेसीमा विवाहिता महिलाले श्रीमान्को दीर्घायु तथा परिवारको सुखसमृद्धिको कामना गर्छन् भने अविवाहिता महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजाअर्चना गर्ने चलन छ । दर्शनार्थीका कारण हलेसीका साना तथा ठूला होटल अहिले भरिभराउ छन् । सडक विस्तारपछि हलेसीमा लाग्ने बोलबम मेलामा चहलपहल बढेको हलेसी मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष गजुरमान राईले बताउनुभयो । रासस

प्रतिक्रिया