हात्ती नियन्त्रणलाई ६ करोड

admin

बनियानी, ३ वैशाख : हात्तीको उपद्रवबाट आक्रान्त दक्षिणी झापावासीले अब राहत पाउने भएका छन् । झापाको हल्दिबारी र कचनकवलस्थित जलथल चारकोशे जङ्गलमा विद्युतीय तारवार गरिने भएपछि यहाँका बासिन्दाले राहत पाउने भएका हुन् । नेपाल सरकारको प्रकृति संरक्षण कोषअन्तर्गत रु ६ करोडको लागतमा जलथल चारकोशे जङ्गल क्षेत्रको करीब ४५ किलोमिटर क्षेत्रमा तारवार गर्न लागिएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

उहाँका अनुसार हल्दिबारी गाउँपालिका–३, ४, ५ र कचनकवल गाउँपालिका–१, ६ र ७ मा विद्युतीय तारवार गरिनेछ । “हात्तीको सास्ती व्यहोरिरहेका यहाँका बासिन्दाले अब राहत पाउने छन्”, उहाँले भन्नुभयो, “बर्सेनी हुँदै आएको जनधनको क्षति न्यूनीकरण हुने आशा छ ।”

 

हात्ती नियन्त्रणका लागि पहिलो चरणमा जलथल जङ्गल वरिपरि विद्युतीय तारवार गर्न लागिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो । “तारवारका लागि ठेक्का लागिसकेको छ”, उहाँले भन्नुभयो, “तारवारका लागि तीन वटा कम्पनीले संयुक्त रुपमा काम गर्नेछन् ।” 

 

विद्युतीय तारवारका लागि न्यू क्रिएशन, पशुपति र फ्रेञ्च गार्ड जेभीले ठेक्का पाएको सहायक वन अधिकृत उप्रेतीले जानकारी दिनुभयो । झापाको महेशपुर, जलथल, पृथ्वीनगर, गरामनी, दुहागढी, बाहुनडाँगी, शान्तिनगर, बुधबारे, शनिश्चरे, अर्जुनधारा, शिवसताक्षी, तोपगाछी लगायतका स्थान हात्ती प्रभावित क्षेत्र हुन् । हाल झापाको जङ्गलमा १० देखि १५ वटा हात्ती स्थायी रुपमा बस्दै आएको सहायक वन अधिकृत उप्रेतीले बताउनुभयो ।

प्रतिक्रिया