हात्ती भाडामा प्रयोग गर्न रोक

शर्मिला गुरुङ

बाँके, ११ फागुन : बाँके राष्ट्रिय निकुञ्जले हात्ती भाडामा प्रयोग गर्न रोक लगाएको छ । सरकारले मेला, महोत्सवलगायत पर्वमा हात्ती भाडामा प्रयोग नगर्न निर्देशन दिएकाले रोक लगाइएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार नर्देशन प्राप्त भएपछि हात्ती कहीँकतै पठाइएको छैन । प्रमुख संरक्षण अधिकृत रेग्मीले भन्नुभयो, “अब हात्ती निकुञ्ज र संरक्षण क्षेत्रको कामबाहेक अन्यत्र प्रयोग हुँदैनन् ।” सरकारले हालैमात्र हात्ती व्यवस्थापनसम्बन्धी ऐन संशोधन गरेपछि हात्तीको प्रयोगमा रोक लगाइएको हो । असोज महीनाअघिसम्म निकुञ्जले शुल्क लिएर हात्तीलाई मेला, महोत्सव, महायज्ञलगायत पर्वमा भाडामा दिने गरेको थियो ।

वन्यजन्तुको अधिकार र हात्तीको प्रयोगबाट हुने असुरक्षालाई देखेर पनि सरकारले हात्ती व्यवस्थापनसम्बन्धी नयाँ नियम ल्याएको प्रमुख संरक्षण अधिकृत रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार अहिले पनि विभिन्न कार्यक्रमका लागि आयोजकले हात्ती माग गर्दै निकुञ्जमा पुग्ने गरे पनि निकुञ्जले हात्ती भाडामा नदिने भन्दै फर्काउने गरेको छ । चार हात्ती रहेको उक्त निकुञ्जमा नेपाली पर्यटकले हात्ती प्रयोग गर्दा छ घण्टाको रु पाँच हजार, सार्क देशका पर्यटकका लागि रु १० हजार र अन्य मुलुकका पर्यटकका लागि रु २० हजार शुल्क लिँदै आएको थियो । यो नियम लागू भएपछि विभिन्न कार्यक्रमका आयोजकले शुल्क तिरेर पनि हात्ती नपाउने निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया