हायाबुसा २ छुद्रग्रहमा सफलतापूर्वक अवतरण

मनिषा थापा

टोकियो, १० फागुन (रासस/एएफपी) : पृथ्वीबाट करिब ३० करोड किलोमिटर टाढाको एउटा क्षुद्रग्रहको अध्ययनका लागि जापानले प्रक्षेपण गरेको यान सफलतापूर्वक उक्त ग्रहमा शुक्रबार अवतरण गरेको छ ।

हायाबुसा२ नाम दिइएको यस उपग्रहको मद्दतबाट जीवको उत्पत्ति र सौर्य प्रणालीका बारेमा महत्वपूर्ण जानकारी सङ्कलन गर्ने वैज्ञानिकहरुले विश्वास व्यक्त गरेका छन् ।

जापानी एरोस्पेश एजेन्सी (ज्याक्सा) का वैज्ञानिकहरुले हायाबुसा२ उपग्रह शुक्रबार सफलतापूर्वक छुद्रग्रहको सतहमा अवतरण गरेको बताएका छन् । छुद्रग्रहको सतहमा यान ओर्लिएको सूचना प्राप्त गरेसँगै ज्याक्सा केन्द्रमा कार्यरत बैज्ञानिकहरुबीच खुशीयाली छाएको थियो ।

“यान सफलतापूर्वक छुद्रग्रहमा अवतरण गरेको छ,” ज्याक्साकी प्रवक्ता चिस्तो इकुताले घोषणा गर्नुभएको थियो । उहाँले नियन्त्रण कक्षमा हायाबुसा२ ले पठाएका सङ्केतहरु प्राप्त हुन थालेको र त्यो ठीकठाक रहेको पनि जानकारी दिनुभयो ।

वैज्ञानिकहरुले यानले पठाउन थालेका तथ्याँकहरु सङ्ग्रह र विश्लेषण गर्न थालेको पनि इकुताले बताउनुभयो ।

“म अहिले साँच्चिकै चिन्तामुक्त भएको छु,” हायाबुसा२ को अभियानका व्यवस्थापक माकाटो योशिकावाले बताउनुभयो । उहाँले अन्तरिक्ष उडानमा यो निकै जटिल प्रक्रिया रहेपनि सबै कार्य सहजरुपमा सम्पन्न भएको बताउनुभयो । “मेरो विश्वासमा खगोल विज्ञानमा यो अर्को महत्वपूर्ण पाइला वा नयाँ खोज हुनेछ ।”

छुद्रग्रहमा सापेक्षित रुपमा करिब ४ अर्ब ६० करोड वर्षअघि ठूलो मात्रामा अर्गानिक बस्तु र पानी रहेको विश्वास गरिन्छ ।

हायाबुसा२ सँगको सञ्चार सम्पर्क बेलाबखत टुटेको थियो किनभने यसको एन्टेना कहिलेकाहिँ पृथ्वीतर्फ फर्किएको हुँदैनथ्यो । तर केही समय वा केही दिनपछि पुनः विद्युतीय सङ्केतहरु प्राप्त हुन थाल्थ्यो ।

शुरुमा यो अभियान गत वर्ष नै सम्पन्न गर्ने लक्ष राखेर काम अघि बढेको थियो । तर छुद्रग्रहको सतहमा उबडखाबड देखिएपछि वैज्ञानिकहरुले अवतरणका लागि उपयुक्त ठाउँ खोज्न केही समय लगाएका थिए ।

हायाबुसा२ अभियानका लागि करिब २७ करोड अमेरिकी डलर खर्च भएको छ । यो अभियान डिसेम्बर २०१४ मा आरम्भ गरिएको थियो र यसले सन् २०२० भित्रमा पृथ्वीमा छुद्रग्रहको सतहमा भेटिएका वस्तुको नमूना सङ्कलन गर्ने समयावधि तोकिएको थियो ।

हायाबुसा२ ले पठाएका प्रारम्भिक तस्वीरमा छुद्रग्रहको सतह केही उबडखाबड भएको देखिएको छ । हायाबुसा२ मा क्यामेरा र सेन्सिङ उपकरण जडान गरिएको छ । साथै, यसमा दुईवटा साना मिनेर्भा–२ रोभर रोबोट र फ्रान्सेली–जर्मनेली मास्कोट नाम गरेको रोबोट पनि रहेको छ । यी रोबोटले ग्रहको सतहका बारेमा जानकारी दिनेछन् ।

छुद्रग्रहबाट यी उपकरणहरुले पठाएका तथ्याँकहरु प्राप्त गर्न थालिसकेको ज्याक्साले जनाएको छ । करिब १० केजीको मास्कोट रोबोटमा सेन्सरहरु जडान गरिएको छ र यसले सतहका तस्वीरहरु खिच्ने, माइक्रोस्कोपको मद्दतबाट खनिजहरुको अनुसन्धान गर्ने, सतहको तापक्रम र चुम्बकीय अवस्थाको मापन गर्नेछ ।

ठूलो फ्रिज आकारको हायाबुसा२ मा सौर्य प्यानल जडान गरिएको छ । जापानी भाषामा हायाबुसाको अर्थ “बाज” हो । सन् २०१४ मा जापानले पहिलोपटक हायाबुसा सफलतापूर्वक प्रक्षेपण गरेपनि त्यसले छुद्रग्रहका बारेमा पर्याप्त जानकारी संकलन गर्न सकेको थिएन ।

प्रतिक्रिया