२० डलरमा किनेको सोफा भित्र ४१ हजार डलर भेटेपछि

रिता घिसिंग

एजेन्सी : अमेरिकाको पाल्ट्जमा एक कलेजका ३ जना विद्यार्थीहरुले मिलेर एउटा घर बस्नको लागि भाडामा लिए । त्यसपछि उनीहरुले एउटा पुरानो सेकेण्ड ह्याण्ड सोफा निकै सस्तो मूल्यमा किने । उनीहरुलाई त्यतिबेलासम्म थाहा थिएन कि यो सोफामा यस्ता चीजहरु लुकेका थिए जसले सदाका लागि उनीहरुको जिन्दगी बदल्दै थियो । यी तीन साथीहरुको यो कहानी निकै रोचक, आश्चर्यजनक र मन भावुक बनाउने खालको छ । सामाजिक संजालमा यो कहानी निकै भाइरल भइरहेको छ ।

यहाँको स्टेट युनिभर्सिटीमा पढ्ने तीन साथीहरु रिसे भेरखोवे, कली गास्ती र लारा रुस्सो ने यो सोफा २० डलरमा किनेका थिए । एक दिन उनीहरु आफ्नो यो पुरानो सोफामा बसेर टिभी हेर्दै थिए । यत्तिकैमा उनीहरुमध्ये एकलाई सोफाको किनारमा केही महसुस भयो । त्यसपछि उनीहरुले सोफाको त्यो भागको गद्दा हटाए । त्यहाँ देख्दा उनीहरुका आँखा खुलाको खुल्लै रह्यो।

त्यहाँ एउटा खाम थियो । खामभित्र १ हजार डलर राखिएको थियो । त्यसपछि तीनै जनाले सोफाको बाँकी भाग खोतल्न थाले । त्यसपछि खामहरु भेटिने सिलसिला सुरु भयो । एकपछि अर्को गर्दै भेटिएका ती खामहरुमा नोट भरिएका थिए । त्यसपछि उनीहरुले सोफाभित्र एउटा अनौठो बाकस भेटे । त्यो बाकस खोलेर हेर्दा त उनीहरु झनै दंग परे । यो बाकसभित्र हजारौं डलरका नोट बेरेर राखिएका थिए ।

तीनै जनालाई आफ्नो भाग्यमा विश्वास लागिरहेको थिएन । तीन जना मिलेर सबै नोट गने । त्यहाँ ४१ हजार डलर थियो । उनीहरुले सपनामा पनि सोचेका थिएनन् कि एउटा पुरानो सोफाले उनीहरुको जिन्दगी बदलिदिनेछ । तर, त्यही बेला उनीहरुले एउटा खामलाई ध्यानपूर्वक हेरे । त्यहाँ एउटा बैंकको डिपोजिट स्लिप थियो । अर्थात यो कसैको पैसा थियो र यो पैसा बैंकमा जम्मा गरिनुपर्ने थियो ।

तीनैजनाले कुनै लोभ नगरी यो पैसाको वास्तविक मालिक खोज्न थाले । त्यहीँका कागजमध्येबाट उनीहरुले एउटा ठेगाना भेट्टाए । तीनैजना त्यो ठेगानामा पुगे । त्यहाँ एउटा थोत्रो घर थियो । घरमा उनीहरुले एउटी बुढी महिलालाई भेटे । थाहा भयो कि त्यो सबै पैसा ती बुढी महिलाका पतिको थियो । महिलाले बताइन् कि यो सबै पैसा उनका पति रिटायर हुँदा पाएका थिए । उनको मृत्युपछि यो पैसा बैंकमा जम्मा गर्नुपर्ने थियो । तर, केही कारणवश महिलाले यो पैसा सोफामा लुकाएकी थिइन् ।

केही समयपछि महिलाका छोराछोरीले महिलालाई थाहै नदिइ सोफा बेचिदिए । यसरी सोफा बेचिदिँदा पैसा पनि सोफासँगै गयो । तीनै जना विद्यार्थीहरुले महिलालाई उनको पैसा फिर्ता दिए । महिलाले तीन जनालाई यसको बदलामा १ हजार डलर दिइन् । महिलाले उनीहरुलाई दिएको पैसा भेटिएको पैसाको तुलनामा निकै कम थियो । तर, ती तीन साथीहरुलाई यो कुरामा खुसी थियो कि उनीहरुले बुढी महिलालाई उनको हराएको पैसा फिर्ता दिलाएका थिए । यी तीन साथीहरुको कहानी सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू