५ महिनापछि अमेरिका फर्किदै तनुश्री दत्ता

रिता घिसिंग

एजेन्सी : बलिउडमा ‘मीटू’ अभियानको सुरुवात गर्ने अभिनेत्री तनुश्री दत्ता अमेरिका फर्किन लागेकी छिन् । उनले ‘मिड डे’लाई दिएको एक अन्तरवार्तामा आफू न्यूजर्सी फर्किन लागेको कुराको खुलासा गरेकी हुन् । तनुश्रीले भनेकी छिन् ‘मेरो भविष्य त्यहीँ छ तर म अर्को वर्ष छिट्टै फर्किनेछु । जब म मुम्बइ आएकी थिएँ त्यतिबेला मैले सोचेकी थिएँ कि एक महिनामै फर्केर जानेछु । तर म यहाँ ५ महिना बस्नुपर्यो ।’

तनुश्रीले अभिनेता नाना पाटेकरमाथि फिल्म ‘हर्न ओके प्लिज’को एक गीतको सुटिङका क्रममा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । यसका अलावा तनुश्रीले निर्देशक विवेक अग्नीहोत्रीमाथि पनि २००५ मा फिल्म चकलेटको सुटिङको क्रममा बिना कपडा इरफान खानको अगाडि नाच्न भनेको आरोप लगाएकी थिइन् ।

तनुश्रीले अन्तरवार्तामा भनेकी छिन् ‘कुन मुद्दा तातेको छ कुन छैन भन्ने म हेर्दिन । यी कुराहरु क्रान्ति हुन् । भविष्यमा यसको असर जरुर देखिनेछ । यसले यस्तो माहोल बनाएको छ कि शोषण गर्नेहरुलाई थाहा हुन्छ कि उनीहरु बच्न सक्दैनन् । मलाई थाहा छ मीटूसँग जोडिएका खबर सधैं अखवारको पहिलो पृष्ठमा आउन सक्दैनन् । तर यो आश्चर्यजनक थियो कि महिलाहरुले शोषण गर्नेहरुको खुलेर नाम लिए ।’

अन्तरवार्ताका क्रममा तनुश्रीले आशा व्यक्त गरेकी छिन् कि यो मुद्दामा उनले न्याय पाउनेछिन् । उनले भनिन् ‘म कसैको सहयोग बिना यो मानसिक तनाव झेल्दै १० वर्षसम्म बसें । मसँग यसको कुनै समाधान थिएन । कानुनी प्रक्रिया म नजिक हुनुमा निर्भर छैन । यदि म यहीँ बसेर यो मुद्दालाई सधैं अगाडि बढाउनुपर्छ भने कानुन र त्यसलाई लागु गर्नेको के अर्थ भयो ?’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू