९ बर्षमै बिष बोकेर मर्न हिंडेका तिलको २८ बर्षपछि पुनर्जन्म (भिडियो)

मनिषा थापा

पिएनपिखबर : कुनै बेला जीवनबाट आजित भएर आत्महत्या गर्न हिडेका तिलबहादुर कार्की आज धेरै अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई नयाँ जीवन प्रदान गर्दै आइरहेका छन्। सडक पेटीमा रित्तो थाल थापेर मागी मागी जम्मा गरेको पैसाले पनि समाज सेवा गरिन्छ भन्दा पत्यार नलाग्न सक्छ तर यो सत्य हो। तिल बहादुर कार्कीले आज त्यही जम्मा गरेको रकमले ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’ खोल्न सफल भएका छन्।

संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष उनी आफै पनि एक अपाङ्ग हुन्। अपाङ्ग भएकै कारणले उनले बाल्यकाल देखि नै धेरै अपहेलाना सहनुपर्यो। उनको विगतका दिनहरु निकै संगर्षपूर्ण ढङ्गले वित्यो।

उनको जन्मिदै दुवै हात र खुट्टामा ६-६ वटा औँलाहरू थिए भने खुट्टा पनि लुलो र राम्रोसँग नचल्ने थियो । हात र खुट्टामा गरेर २४ वटा औंला भएको कारण उनलाई गाउँमा सबैले ‘अलच्छिना’ र २४ औलेले गाउँ नै खान्छ भनेर हेला गर्ने गर्दथे। उनकी आमालाईसमेत पूर्वजन्ममा पापका कारण यस्तो अपाङ्ग जन्मिएको आरोप लगाइयो । उनलाई गाउँमा बस्न सक्ने वातावरण नै थिएन । पढ्न स्कुल जाँदा विद्यालयमा पनि उनलाई जिस्काउने र हेला सहनुपर्यो। यस्तो अपहेलित भएर बाच्नु भन्दा मर्नुको विकल्प रोजे उनले।

उनी धेरै पटक आत्महत्या गर्न समेत् हिडे। तर नियतिलाई त्यो मन्जुर थिएन। उनले मुसा मर्ने विष बोकेर हिडे तर उनी ७ पटक विष सेवन गर्दा पनि मर्न सकेनन्। मृत्युले पनि उनलाई सजिलै स्वीकार नगरेपछि उनी कलिलो उमेर मै गाउँ छाडेर झापा पुगे। झापाबाट बसको छतमा बसेर राजधानी आइपुगे। उनी शुरुवातमा भोकभोकै परे। पछि उनले मागेर खाने निर्णय गरे । त्यसपछि उनी पशुपति मन्दिरमा आएर माग्न थाले। मागेको दिनभरि मागेको पैसा बिहान उठ्दा लुटिइसकेको हुन्थ्यो। पैसा जेगाउन उनले गुहेश्वरी नजिकै रहेको रूखमुनि ७ दिन लगाएर खाल्डो खनेर बोरामा पैसा जम्मा गर्न थाले ।

२०३८ सालतिर जम्मा गर्न थालेको पैसा २०६५ सालमा निकाले। २५ वर्षको अन्तरालमा पैसा निकाल्दा पाँच लाख, ५१ हजार २५ सय जति भएको थियो । पैसा देखेर उनलाई हार्टअट्याक भएर ढलेका थिए। कति पैसाको नोट त कुहिएको थियो। राती सपनामा उनलाई सधैं भगवान आएर त्यो पैसाले आफूजस्तै दुःखीको उद्धार गर भनेर भनिरहन्थ्यो ।

उनले पैसा निकालेपछि त्यही निर्णय गरे । त्यही पैसाले उनले ‘संयुक्त अपांग जीवन केन्द्र’ नामको संस्थाको स्थापना गरे र अहिले उक्त संस्थाबाट अहिले ४५ जना विद्यार्थीले शिक्षा ग्रहण गरिरहेका छन्। विभिन्न ठाउँमा कार्यक्रम गर्ने र आफ्नो जीवन कथामा बनेको ‘डकुमेन्ट्री’ देखाएबापत पैसा लिने गर्छन् । उनलाई आज सबैले सिएनएनको हिरोको रुपमा चिन्छन। उनलाई कुनै बेला हेला गर्ने समाजले उनको महिमा सुनेर सम्मानको लागि बोलाउने गर्छन।

कार्कीको प्रेमविवाह भएको १० वर्षजति भयो । २०६८ सालमा उनले गलत नम्बर डायल गरेका थिए। झुक्किएर लागेको नम्बरबाट युवतीसंगको कुराकानी प्रेम बन्धनमा बाधिदै विवाहमा परिणत भयो। उनको सन्तान भने छैन। उनले आफ्नो सन्तान जन्मिदा संस्थामा रहेको बालबालिकामाथि भेदभाव होला भन्ने सोचले सन्तान जन्माएनन्।

उनको सपना भनेको आफु मरेर गए पनि सस्थामा आश्रित बालबालिकाहरुको भबिष्य उज्ज्वल बनाउनु हो, अहिले बस्दै आएको भवन असुरक्षित र भाडा महँगो पनि भएकोले गर्दा उनीले गोकर्णमा जग्गा भाडामा लिएर आफ्नै आश्रय स्थल टहरा बनाउने निर्यण गरे, जहा चालिस जना अनाथ तथा अपाङ्ग बालबालिका हरुको भबिष्य सुनिश्चित बनाइ उनीहरुलाइ मुलुकको एक असल नागरिक बनाउन अहिले सस्थाका अध्यक्ष तिल बहादुर कार्की लागि परेका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू