जब श्रीमानले सुनिताको मुखमा पिसाब गरे…

शीर्ष समाचार

बिहिवार - फाल्गुण १२, २०७३
Thursday - Feb 23, 2017

जब श्रीमानले सुनिताको मुखमा पिसाब गरे…

‘छोरी तिमी सधैं माइती बसेर हुँदैन पराई घर जानुपर्छ ।’ म १० वर्षकै हुँदा बुबाले यसो भनेर बिहेका लागि यसरी फकाउनुभएको थियो । बुबाको कुराले चित्त दुखेर धेरै रोएकी थिएँ । धेरै पढेर राम्रो जागिर खाने रहर १२ वर्षमै बिहे भएर ‘पराई घर’ गएपछि तुहिएर गयो । ‘मारे पाप पाले पुण्य’ भनेर अग्निका अगाडि कसम खाएको लोग्नेले बिहेको एक वर्षदेखि रक्सी खाएर पिट्न थाल्यो । उ सरकारी कर्मचारी थियो । अफिस काठमाडौँमा । हामी भैंसेपाटी बस्थ्यौं । हाम्रा दुई बच्चा भए । बच्चा जन्मिएपछि पनि लोग्नेको कुटाई नखाएको रात हुन्थेन । मलाई मात्र होइन, ती अवोध बच्चाहरुलाई समेत उसले खान दिँदैनथ्यो ।

एकदिन म बाहिर गएको मौका छोपेर उसले डेरामा ताल्चा ठोकेर हिँडेछ । काखमा ५ महिनाकी छोरी र २ वर्षे छोरा लिएर कामका लागि काठमाडौँको हरेक गल्ली चहारे । स्वार्थी सहरमा कसैले दया देखाएन । माइती जाउँ झनै सम्भव थिएन । किनकी हाम्रो समाजमा ‘अर्काको घर गएकी छोरी’ का लागि माइतीको ढोका सधैंका लागि खुला हुन सक्ने थिएन । बिहे गरेर गएपछि माइती जानु पाहुना लाग्न जानुजस्तै हो । यो सोचेर काठमाण्डुमै संघर्ष गर्ने र छोराछोरी हुर्काउने निधो गरें ।

आमाको कमजोरी, नियती, बाध्यता वा धर्म के हो मलाई थाहा छैन । तर पुरुषले सजिलै बच्चा छाडेर हिंड्न सक्छ र पाउँछ । तर महिलाका लागि त्यस्तो छुट हुँदोरहेनछ । उसले छाडे पनि मैले बच्चा छाडेर हिँड्न सकिनँ । छोराछोरीको साँझ–बिहानको पेट भर्न डान्सबारमा काम गर्नपुगें ।
धादिङकी सानु मगरले डान्सबारमा यो स्तम्भकारसँग पोखेको पीडा हो यो । सानु भन्छिन्, ‘रातदिन रक्स्याहा लोग्नेको पिटाइबाट मेरो करङ भाँचिएको छ, शरीरमा निलडाम अझै छन् । सानुका १० र ११ वर्षको छोरी र छोरा छन् । उनीहरुलाई पाल्न डान्सबारमा काम गर्छिन् । सुरुमा पुतलीडकमा रहेको ताजमहल रेष्टुरेन्टमा काम गरेकी उनी अहिले ठमेलको एउडा बारमा डान्स गर्छिन् । यद्यपि उनलाई अहिले राम्रो नाँच्न आउँदैन । ‘तर म नानिच भने मेरा छोराछोरी भोकै मर्छन्, तिनिहरुका लागि नजाने पनि नाच्नु मेरो बाध्यता हो ।

उनी नाचेरै तीन जना परिवारको गुजारा चलेको बताउँछिन् । ‘अहिले त छोराछोरी अलि ठूला भए । जब साना थिए मैले आमाको दूध खाने समयमा कोठामा थुनेर काममा जान्थें । घर फर्कंदा कहिले बाटाको पानी घोप्टाएर चिसोमा रोइरहेका हुन्थे, कहिले ओछ्यानमै दिसा पिसाब गरी त्यसैमाथि निदाएका हुन्थे’, सानुले ती दिनहरु सम्झिइन् । सानुले सरकारले सिलाइकटाई र ब्युटीसिएनको तालिम दिन्छ रे भन्ने सुनेकी छन् । ‘त्यसका लागि नागरिकता चाहिने रहेछ । मसँग नागरिकता छैन । तालिम लिन पाएपछिलाई गरिखाने बाटो हुन्न्थ्यो’, सानुले आफ्नो पीडा सुनाइन् ।

सानु जस्तै राजधानीमा खुलेका अधिकांश डान्सबारमा कार्यरत धेरै युवती विवाहित छन् । उनीहरुका बालबच्चा छन् । कतिले अविवाहित भनी ढाँटेर काम गर्छन् । कतिले आफ्नो बास्तविकता खुलाएरै त्यस क्षेत्रमा काम गरेका छन् । केही वर्षअघिसम्म युवतीहरु काखे बच्चा च्यापेरै कार्यस्थल जान्थे । बच्चालाई एउटा कोठामा थुन्थे र आफू डान्सबार र क्याबिनमा काम गर्थे । त्यसरी काम गर्दा आमा र बच्चामा पर्ने मानसिक असरबारे सजिलै अनुमान लगाउन सकिन्छ ।

नुवाकोटको विकट गाउँकी सुनिता तामाङ (२८) को व्यथा पनि सानुको भन्दा फरक छैन । वर्षमा तीन महिना पनि खान नपुग्ने परिवारकी सुनितालाई बा आमाले ८ वर्षको उमेरमा ९ वर्षको केटासँग बिहे गरिदिए । बिहे लगत्तै बा आमाको निधन भयो । १२ वर्षको उमेरमा श्रीमानको घर छाडेर सुनिता माइत पुगिन । जहाँ दाजुले बस्न दिएनन् । अनि साथीहरुको लहलहैमा काठमाडौँ पुगिन।

उनले चाबहिलमा ज्यामी काम गर्न थालिन । भन्छिन्, ‘सानी थिएँ, पैसा थोरै दिन्थे के गर्ने बाँच्नलाई जे पनि गर्नै पर्ने ।’ २ वर्ष काम गरेपछि सँगै काम गर्ने एक युवाले खुबै माया गर्न थाल्यो । बिहे गर्ने मन त थिएन, तर ज्यामी काम गरेर पनि जहिल्यै चिउरामा छाक टार्नुपर्ने भएपछि पेट पाल्नकै लागि फेरि बिहे गरिन् ।
बिहे गरेको एक वर्षपछि छोरा जन्मियो । ‘हामी केटी मान्छे त लोग्नेको कमारा रहेछौं, उीहरुको इच्छामा नाच्नुपर्ने’, उनी भन्छिन् । सधैं रक्सी खाएर लोग्नेले कुट्दा ऐया भन्ने आँट पनि थिएन उनमा । घोप्टो परेर लात थापिराख्नु कष्टकर दैनिकी उनको थियो । कुटाइको त कुरै भएन । यतिसम्मकी श्रीमानले रक्सीको नशामा मुखमै पिसाब गरिदिन थाल्यो ।

सधैंको पीडा खप्नुभन्दा एक्लै बाँच्छु भन्ने सोचेर छोरा च्यापेर घरबाट हिँडिन सुनिता । एक्लै हुँदा त के खाउँ थियो । छोरा पनि थपिएपछि त कष्ट थपियो । बाध्य भएर साथीको सहयोगमा डान्सबाररमा काम गर्न थालिन् उनी । सानो छोरालाई कोठामा थुनेर सधैं काममा जानुपर्ने । छोरा रातभर रुँदै ओछ्यानमै दिसा पिसाब गरेर चिसोमै निदाउँथ्यो । ‘शरीर डान्सबारमा भएर के गर्नु मन डेरामा हुन्थ्यो छोरासँग’, उनी भन्छिन् । छोरालाई पढाएर ठूलो मान्छे बनाउँने सपना उनको छ । ‘आमाले गरेको दुःख सम्झेर उसले मलाई पाल्छ होला नि’, मन बुझाउँने बाटो थियो उनको छोरा । गाउँकी सोझी केटी । डान्सबारमा फिल्मको हिरोइन जसरी नक्कल पारेर ग्राहक खुसी पार्नुपर्ने ।

एक रात काममा गएकाबेला छोराले खाटबाट लडेर खुट्टा भाँचेछ । ‘ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेको त्यही होला । काममा नजाऔं, बाँच्ने आधार छैन । जाऔं बिरामी छोराको हेरविचार गर्ने कोही छैन । एक वर्षसम्म छोरालाई जोरपाटीको हाडजोर्नी अस्पतालमा छाडेर काममा गइन् उनी । एक वर्षमा पनि भाँचिएको खुट्टा निको भएन ।

अहिले उसको खुट्टा चल्दैन । वैशाखीको भरमा भित्रबाहिर गर्छ । छोरा पढाएर ठूलो मान्छे बनाउने धोको पूरा भएन । सुनिता अहिले बहिनी ज्वाईँसँग बस्छिन् । एउटा साँघुरो कोठा छ । त्यसमा एउटा खाट । त्यसमै सबै जना खाँदिएर सुत्छन् । डान्सबारको कमाई महिनामा जम्मा ३५ सय । महिनाभरिको कमाइले खानसमेत पुग्दैन । छुट्टै कोठा लिएर बस्नु त परैको कुरा । ‘त्यसैले लाजै पचाएर बहिनीको डेरामा बसेकी छु’, सुनिता भन्छिन् । उमेर छँदासम्म त यो पेशा गरौँला तर उमेर ढल्केपछि के गरेर बाँच्ने भन्ने चिन्ताले उनलाई सताउँछ । सीपमुलक तालिम नागरिकता खोज्छन् । उनको नागरिकता छैन । ‘मेरो त भएन, पछि छोराको कसरी कसरी नागरिकता बन्छ होला ?’ उनलाई चिन्ता छ ।

दमौलीकी मीना ठकुरीका तीन छोराछोरी छन् । बाबुआमाले १६ वर्षको उमेरमा ३५ वर्षको केटासँग बिहे गरिदिए । परिवार पाल्नकै लागि डान्सबारमा काम गर्न पुगिन् । जुम्ल्याहा दुई छोरा छोरी र जेठो छोरासमेत गर्दा पाँच जनाको परिवार । श्रीमान केही काम नगर्ने । बाध्य भएर छोराछोरी पढाउन डान्सबारमा काम गर्न पुगिन् उनी पनि । ‘दूध खाने जुम्ल्याहा बच्चालाई कोठामा छाडेर काममा जान्थेँ, लोग्ने कता जान्थ्यो थाहा छैन । मनलागे घर आउँथ्यो नत्र बाहिरै रात बिताउँथ्यो ।

छोराछोरी पाल्ने ठेक्का आमाको मात्र हुनेरहेन । मैले सयौं पुरुषसँग नाटकीय शैलिमा नजिकिनु पर्यो, उनीहरुको ईशारमा नाच्नु पर्यो’, मीना भन्छिन् ।
मीनाका छोराछोरी ठूला भइसकेका छन् । छोराछोरीले नरमाइलो मान्लान् भन्ठानेर ‘अस्पतालमा रातिको काम गर्छु’ भनेकी छन् । थाहा पाए भने ‘छोराछोरीले आमाले डान्सबारबाट कमाएको पैसाले पढ्नुभन्दा नपढी बस्छौ’ भन्छन् कि भन्ने चिन्तामा उनी छिन् । छोराछोरी बुझ्ने भइसकेकाले उनीहरुले थाहा पाउनुभन्दा पहिल्यै सानो पसल खोलेर बस्ने विचार उनको छ । ‘उनीहरुकै राम्रोका लागि डान्सबारमा काम गरे पढाएँ, हुर्काएँ अहिले तिनैले यस्तो काम गरिस् भनेर धिक्कार्छन् कि भन्ने डर छ मलाई’, उनले भनिन् ।
-परिवार तामाङ्ग ब्लगस्पोटबाट साभार

प्रतिकृया दिनुहोस

Loading...