पृथ्वीनारायण शाह नेपालका महान् पुत्रः डा महत

Loading...

पुस २७, काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महतले पृथ्वीनारायण शाह नेपालका महान् पुत्र भएको बताउनुभएको छ । आज एकता दिवसको अवसर पारेर नागरिक समूहले आयोजना गरेका कार्यक्रममा उहाँले शाह जस्तो दूरदर्शी सोच र सबैलाई एकसाथ लिएर जाने कूटनीतिक नीतिले आजको नेपालको सिर्जना गरेको धारणा राख्नुभयो ।

त्यो बेलाको नेपाल दक्षिण एसियाकै शक्तिशाली मुलुक भएको चर्चा गर्दै नेता महतले मुलुकलाई उन्नतिको दिशामा लैजान आर्थिक नीति सुधार गर्नुपर्नेमा जोड दिनुभयो । देशलाई एकतामा बाँधिराख्न जातजाति, भाषाभाषी, मधेस, पहाड र हिमाललाई टुक्र्याउन नहुने उहाँको भनाइ छ ।

नयाँ शक्ति नेपालका सदस्य सुनील खड्काले पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै राजनीतिक दलले विचारको एकीकरण गर्नु अहिलेको आवश्यकता भएको जिकिर गर्नुभयो । देशलाई डुब्नबाट बचाउन युवा प्रत्यक्ष राजनीतिमा आउनुपर्ने उहाँको विचार थियो । नागरिक समूहका संयोजक निगम हुमागाईंले राज्यले आजको दिनमा सार्वजनकि बिदा नदिएर राष्ट्र निर्माताको अपमान गरेको आरोप लगाउनुभयो । रासस

प्रतिकृया दिनुहोस

Loading...