justnep single

अघिल्ला निर्णय फिर्ता हुँदैन, नेपाल र रावलको स्पष्टीकरण कारबाहीयाेग्य : प्रधानमन्त्री ओली

admin

काठमाडौं, १३ चैत : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गतेको केन्द्रीय समिति बैठक र त्यसपछिका संसदीय दलका बैठकले गरेका निर्णय फिर्ता नहुने बताएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले फागुन २८ को केन्द्रीय समिति र चैत ५ तथा ७ गतेको संसदीय दलको बैठकले गरेको निर्णयबाट पछाडि फर्किन नसकिने बताएका दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

बरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूहका सांसदहरु पनि सहभागी बैठकमा प्रधानमन्त्री ओलीले संसदीय दलको विधान केन्द्रीय समितिले अनुमोदन गरिसकेकाले तत्काल यसमा तलमाथि गर्न नसकिने बताए।

पार्टीका चार जना नेतालाई सोधिएको स्पष्टीकरणमध्ये बरिष्ठ नेता माधव नेपाल र भीम रावलको स्पष्टीकरण प्राप्त भएको जानकारी ओलीले बैठकमा गराएका थिए। ‘दुई नेताको स्पष्टीकरण नकारात्मक कोणबाट आएको छ, उहाँहरु कारवाहीको भागिदार हुनुहुन्छ’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै प्रमुख सचेतक भट्टराईले भने, ‘बाँकी दुई नेताको स्पष्टीकरण पार्टीलाई एकढिक्का राख्नेगरी सकारात्मक कोणबाट आउने अपेक्षा गर्दछु।’

नेता नेपाल र रावललाई कस्तो कारवाही हुन्छ भन्नेबारे आगामी केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने भट्टराईले बताए। पार्टीमा अब समूहगत र गुटगत डिलिङ नगर्ने भन्दै ओलीले समस्या र गुनासा भए व्यक्तिगत रुपमा सुनुवाइ गर्ने पनि बताएका थिए।

प्रतिक्रिया