justnep single

अन्ततः बङ्गलादेशबाट आउने भयो ५० हजार टन युरिया मल

admin

काठमाडौं, पुस २ : नेपालले बङ्गलादेशबाट ५० हजार टन युरिया मल ल्याउन सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । नेपाल र बङ्गलादेशबीच (जीटुजी) मार्फत मल खरिदका लागि सम्झौता भएको हो ।

कृृषि सामग्री कम्पनी लिमिटेड र बङ्गलादेश केमिकल इण्डस्ट्रिज कर्पाेरेशन (सीसीआईसी) बीच मल खरिद–बिक्रीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो हस्ताक्षरपछि तीन महिनाभित्र बङ्गलादेशले नेपालमा युरिया निर्यात गरिसक्नुपर्नेछ ।

सम्झौता भएको ५० हजार टन युरिया मल चार चरणमा नेपाल आउने कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव डाक्टर योगेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणको मल अबको १५–२० दिन भित्रै नेपाल आउने छ । चार चरण गरी दुई महिनाभित्र ५० हजार टन युरिया मल नेपाल आउने उहाँले बताउनुभयो ।

यो मल आएपछि हिउँदे बालीका लागि युरिया मलको अभाव नहुने उहाँको भनाइ छ । ढिलै भए पनि बङ्गलादेशसँग मल खरिदका लागि सम्झौता भएको हो ।

गएको भदौमा नेपाल र बङ्गलादेश सरकार प्रमुखबीच भएको टेलिफोन कुराकानीमा पैँचोमा मल ल्याउने मौखिक सहमति भएको थियो । तर बङ्गलादेश सरकारले सुरुवाती चरणमा मल पैँचो दिने बताए पनि पछि खरिद गरेर लैजानुपर्ने प्रस्ताव राखेको थियो ।

प्रतिक्रिया